काठमाण्डौ,२४ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारीमा जाने युवाहरूलाई सरकारले नै सस्तो ब्याजमा ऋण दिने व्यवस्था मिलाउनुपर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री कार्यालयमा आज श्रममन्त्री, सचिव र विभागीय कर्मचारीसँगको छलफलमा उहाँले वैदेशिक रोजगारीमा जाने युवा अनुचित लेनदेन र दलालबाट ठगिएका उल्लेख गर्दै सरकारले नै सस्तो ब्याजमा ऋण दिने व्यवस्था मिलाउनुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई थप आर्थिक भार पर्ने निर्णय तत्काल फिर्ता लिन पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिनुभयो । उहाँले मन्त्रालयले वृद्धि गरेको भनिएको शुल्क श्रमिकबाट नलिई यथावत् रूपमा हुने गरी कार्यान्वयनको व्यवस्था मिलाउन निर्देशन दिनुभयो ।
प्रधानमन्त्री प्रचण्डले सामाजिक सुरक्षा कोषमा औपचारिक, अनौपचारिक र वैदेशिक रोजगारी तथा स्वरोजगारमा रहेका श्रमिकको आबद्धता र विस्तारलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न निर्देशन दिनुभयो । उहाँले वैदेशिक रोजगारीका स–साना कामका लागि पनि काठमाण्डौ धाउनुपर्ने परिस्थितिको अन्त्य गरी सम्भव भएसम्म सबै सेवा पालिकाबाटै प्रवाह गर्ने व्यवस्था मिलाउनुपर्ने बताउनुभयो ।