वीरेन्द्रनगर,८ माघ । हत्या गरेको आरोपमा नेकपा माओवादी केन्द्रकी नेतृ पंचा सिंहविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । १५ वर्षअघि हत्या गरिएका कालिकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्यामा संलग्न रहेको आरोप अखिल क्रान्तिकारीका अध्यक्ष समेत रहेकी सिंहसहित ६ जनालाई पक्राउ गर्न जिल्ला अदालत सुर्खेतले पक्राउ पूर्जी जारी गरेको छ । जिल्ला अदालतले प्रहरीलाई शुक्रबार उनीहरुलाई पक्राउ गर्न अनुमति दिएको हो ।
प्रहरीका अनुसार किटानी जाहेरीमा नाम उल्लेख भएका कालिकोटको महावै गाउँपालिका स्थायी ठेगाना भएकी सिंहसहित ‘टाइगर’ भनिने पदमबहादुर रावत, ‘गुराँस’ भनिने बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालिकोटकै खाडाचक्र नगरपालिकाका ‘सुभाष’ भनिने वीरबहादुर मल्ल र ‘अशोक’ भनिने अलि कार्कीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।
यसअघि जिल्ला अदालतबाट २०७९ साउन १३ गते पहिलो पटक पक्राउ पूर्जी प्रहरीले जारी गरेको थियो। तर राजनीतिक संरक्षणका कारण उनीहरु पक्राउ परेनन् । पीडित परिवारले किटानी जाहेरीमा नाम उल्लेख भएका ६ जनाविरुद्ध पक्राउ पूर्जी माग गरे अनुसार पक्राउ गर्न अनुमति पाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी योगेन्द्रसिंह थापाले बताए । उनका अनुसार प्रहरीले उनीहरुको घर–ठेगानामा खोजतलासका लागि पत्राचार गरिसकेको छ ।
सुर्खेतको जन माविमा पढ्दै गरेका राजबहादुरको २०६५ फागुन २६ गते बेलुका ८ बजेतिर सुर्खेत बसपार्कमा खाना खाएर कोठातर्फ जाँदै गरेको बेला खुकुरी प्रहार गरेर हत्या गरिएको थियो । हत्या लगत्तै मृतकका कान्छा बुवा नवराज मल्लले जाहेरी दिएका थिए ।