काठमाडौं,३१ बैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार विश्वासको मत लिँदै छन् । २६ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले नियुक्तिको छैटौँ दिनमै विश्वासको मत लिन लागेका हुन् ।
विश्वासको मतका लागि सरकारको सिफारिसमा कोशी प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभा बैठक आह्वान गरेका छन् । कोशी प्रदेश सभाका प्रवक्ता गौतमराज अमात्यले मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने र प्रदेश प्रमुखले सरकार गठनसम्बन्धी पठाएको पत्र वाचन गर्ने विषय सोमबारको कार्यसूचीमा रहेको जानकारी दिए ।
संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्री भएका कार्की तेस्रोपटक कोशी प्रदेशको मुख्यमन्त्री बनेका हुन् । केन्द्रमा गठबन्धन परिवर्तन भएसँगै अल्पमतमा परेका पूर्व मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पनि नलिने र राजीनामा पनि नदिने रणनीति बनाएपछि प्रदेश प्रमुख खापुङले उनलाई अपदस्थ गर्दै हिक्मतलाई नियुक्त गरेका थिए ।
एमाले संसदीय दलका नेता कार्की एमालेका ३९ र माओवादीका १३ सहित ५२ सांसदले हस्ताक्षर गरेपछि मुख्यमन्त्री नियुक्त भएका हुन् । विश्वासको मत लिएपछि चाँडै मन्त्रिपरिषद्लाई पूर्णता दिने उनले बताए । ‘सोमबार विश्वासको मत लिने कार्यसूची छ । त्यसपछि मन्त्रिपरिषद्लाई एक हप्ताभित्र पूर्णता दिन्छौँ,’ मुख्यमन्त्री कार्कीले भने, ‘अहिलेलाई माओवादी र एमालेबाट विश्वासको मत दिने प्रतिबद्धता आएको छ । अरू दलले पनि दिनुहुन्छ भन्ने विश्वास छ ।’ ९२ सदस्यीय रहेको प्रदेश सभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ ।
त्यस्तै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारी आगामी ३ जेठमा प्रदेश सभाबाट विश्वासको मत लिने तयारीमा छन् । उनको पार्टी एकीकृत समाजवादीको प्रदेश संसदीय दलका उपनेता प्रकाश रावलले विश्वासको मत लिनेबारे केन्द्रबाट निर्देशन आएको बताए । ‘केन्द्रमा गठबन्धनको नेतृत्व पंक्तिमा सहमति भएपछि हामी यहाँ अगाडि बढ्ने हो, प्रधानमन्त्री र हाम्रो पार्टीका अध्यक्षले विश्वासको मत लिन मुख्यमन्त्रीलाई भनिसक्नुभएको छ,’ उनले भने, ‘मुख्यमन्त्री विश्वासको मत लिने तयारीमा हुनुहुन्छ ।’
एमाले संसदीय दलका प्रमुख सचेतक सुरेन्द्र पालले मुख्यमन्त्रीलाई विश्वासको मत दिनेबारे केन्द्रबाट कुनै निर्देशन आएको आफूलाई जानकारी नरहेको बताए । ‘३ जेठमा मुख्यमन्त्रीले विश्वासको मत लिने सहमति केन्द्रमा भएको भन्ने सुनिएको छ,’ उनले भने, ‘पार्टी केन्द्रले गर्ने निर्देशनअनुसार हामी यहाँ अगाडि बढ्छौँ ।’माओवादी भने मुख्यमन्त्रीले सक्दो चाँडो विश्वासको मत लिएर सरकारलाई पूर्णता दिनुपर्ने पक्षमा छ । बजेट निर्माणको तयारीमा जुट्नुपर्ने भएकाले विश्वासको मत र मन्त्रिपरिषद् विस्तारको काम चाँडै टुंग्याउनुपर्ने माओवादी संसदीय दलका उपनेता अक्कलबहादुर रावलले बताए । मुख्यमन्त्री सोडारीले गत २० वैशाखमा विश्वासको मत लिन खोजेका थिए, तर एमाले मत दिन तयार नभएपछि विश्वासको मतको प्रयोजनका लागि बोलाइएको प्रदेश सभा बैठक २१ गते सारिएको थियो ।