Logo
६ पुस २०८१, शनिबार

७२ जिल्लामा फैलियो डेङ्गी, ६ महिनामा १२ सयभन्दा धेरै सङ्क्रमित

अक्षरपाटी
२०८१ असार ६ , बिहीबार १०:०६ मा प्रकाशित


काठमाण्डौ,६ असार । देशका ७२ जिल्लामा डेङ्गी सङ्क्रमण फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअनुसार पछिल्लो ६ महिनामा सङ्क्रमितको सङ्ख्या १२ सय नाघेको छ । हिमाली जिल्लाहरू मुस्ताङ, डोल्पा, मुगु, हुम्ला र जुम्ला बाहेकका ७२ जिल्लामा डेङ्गीकोे सङ्क्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।

बाग्मतीमा ४ सय २८, कोशीमा २ सय ८५, गण्डकीमा १ सय ८८, लुम्बिनीमा १ सय ४८, सुदुरपश्चिममा १ सय ४०, मधेशमा ३४ र कर्णालीमा १८ जनामा सङ्क्रमण देखिएको छ । सबैभन्दा धेरै सङ्क्रमित काठमाण्डौमा भेटिएका छन् । काठमाण्डौमा १४१, झापामा ११२, चितवनमा ७५, मकवानपुरमा ५९ र डोटीमा ४७ जनामा सङ्क्रमण देखिएको महाशाखाले जनाएको छ ।

त्यस्तै तनहुँमा ४६, सिन्धुपाल्चोकमा ४४, ओखलढुङ्गामा ४१, रूपन्देहीमा २८ र भक्तपुरमा २७ जनामा सङ्क्रमण पुष्टि भएको छ । डेङ्गी सङ्क्रमण देखिएका बिरामीमा उच्च ज्वरोसँगै बेस्सरी टाउको दुख्ने, आँखाको गेडी, हाडजोर्नी, मांसपेशी तथा ढाड दुख्ने, रिंगटा लाग्ने, वाकवाकी र वान्ता हुने, श्वासप्रश्वासमा समस्या आउने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने, बेहोस हुने जस्ता लक्षण देखिन्छन् ।

यस्ता लक्षण देखिए नजिकको स्वास्थ्य संस्थामा गई स्वास्थ्यकर्मीको सल्लाह लिन र उनीहरूले भनेअनुसार मात्रै औषधि खान विज्ञले सुझाव दिएका छन् । मनसुन सक्रिय भएसँगै डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने हुँदा नियन्त्रणका लागि सक्रियता देखाउन विज्ञहरुले सरकार र सम्बन्धित पक्षलाई सुझाव दिँदै आएका छन् ।

डेङ्गी सार्ने एडिज जातको लामखुट्टेले प्रायः दिनमा टोक्छ । यो लामखुट्टेले जमेको थोरै पानीमा पनि फुल पार्ने भएकाले सरसफाईमा र पानी जम्न नदिन तथा लामखुट्टेको टोकाइबाट बच्न विज्ञको सुझाव छ ।