कैलाली । कैलालीमा ६ जना भारतीय नागरिक पक्राउ परेका छन् । जिल्लाको टीकापुर नगरपालिका-८ बटनपुरबाट ६ जना भारतीय नागरिकलाई पक्राउ गरिएको हो ।
भारतको लखिमपुर खिरी तिकुनिया गाउँका ३० वर्षीय गुल्ला सिंह, ४५ वर्षीय इब्राहिम खान, २१ वर्षीय सुशिल कुमार, २६ वर्षीय अमिल खान, २५ वर्षीय समिर खान र २६ वर्षीय साहिल खानलाई अवैध सामानसहित पक्राउ गरिएको सुदूरपश्चिम प्रहरीले जनाएको छ ।
उनीहरूलाई तीन लाख ९० हजार ८५० मुल्य बराबरको सुर्तीजन्य पदार्थ, जुत्ता, चप्पल, माला, साइकलसहित पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनीहरूलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय टीकापुरको संयुक्त टोलीले पक्राउ गरेको हो ।
यस्तै, धनगढी उपमहानगरपालिका–४, १२ र १५ लगायतका क्षेत्रबाट पनि भन्सार छलीको सामान बरामद गरिएको छ । दुई लाख २३ हजार बढीको सामान बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरेको भन्सार छलिको सामान र पक्राउ परेकालाई कारबाहीका लागि भन्सार कार्यालय पठाइएको छ ।