Logo
२६ जेठ २०८३, मंगलबार

गेटा आँखा अस्पताल : के हो कर्मचारी, स्थानीय बासिन्दा र प्रशासनबीचको द्वन्द्व र वास्तविकता

अक्षरपाटी
२०८३ जेठ २६ , मंगलबार १२:०६ मा प्रकाशित

o गिरी राज भण्डारी

गेटा आँखा अस्पताल सुदूरपश्चिम प्रदेशकै आँखा स्वास्थ्य क्षेत्रको एक धरोहर हो । धेरैलाई आँखा देखाउने यो पवित्र संस्था पनि हो। सन् १९८२ मा स्थापना भएको गेटा आँखा अस्पताल आँखा स्वास्थ्य क्षेत्रमा निरन्तर उत्कृष्ट सेवा दिंदै छ।

यस अस्पतालमा आँखा चेकजाँच गर्न सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र भारतका विभिन्न प्रदेशका गरी दैनिक ४ देखि ५ सय बिरामीहरु आउने गर्दछन्। नेपाल मात्र होइन, यो भारतीय आँखाका बिरामीका लागि पनि भरोसा हो।

अस्पतालको पर्याप्त भौतिक पूर्वाधार, दक्ष जनशक्ति, अत्याधुनिक प्रविधि, उपकरण र कर्मचारीहरुको राम्रो व्यवहार, सुरक्षाको राम्रो व्यवस्था लगायतका विविध सकारात्मक पक्षले अस्पतालमा आउने नेपाली तथा भारतीय आँखा रोगका विरामीहरुको संख्या बढ्दो छ।

आँखा चेकजाँच गर्न आउने विरामीहरुलाई उत्कृष्ट सेवा दिंदै आएका अस्पतालमा कार्यरत कर्मचारीहरु अस्पताल व्यवस्थापन समिति, अस्पताल प्रशासनले गरेका वेतिथि, ज्यादती, अन्याय, विभेद र अत्याचारका कारण आज आफै मानसिक तनावको शिकार बनेका छन्।

कर्मचारीहरुको मनोवल घटेको छ। सेवामा नकारात्मक प्रभाव परेकाे छ। उँचाे छवी बनाएको सँस्था आज समिति र अस्पताल प्रशासनका कारण गिर्दाे अवस्थामा छ। कर्मचारीहरुले संस्थामा आफ्नो जागिरको भविष्य, सुनिश्चितता नदेखेपछि यो अवस्था आएको हो ।

अस्पताल व्यवस्थान र प्रशासनप्रति सेवाग्राहीको असन्तुष्टि :

गेटा आँखा अस्पतालमा आँखा चेकजाँच गर्न आउने सेवाग्राहीहरुले पनि अस्पताल व्यवस्थापन र प्रशासनको मानवीय व्यवहार र व्यवस्थापन नभएको देख्दा समय समयमा आक्रोश व्यक्त गर्ने गरेका छन्।

अस्पतालमा लामो लाइन र बाक्लो भीडमा मिसिनुपर्ने, गुनासो सुन्ने अधिकारी नभएको, औषधि तथा चश्मा किन्दा अस्पताल फार्मेसी, चश्मा घर अस्तव्यवस्त हुने, क्याविन चार्ज निकै महंगो, खानेपानी तथा शौचालयको राम्रो प्रबन्ध नभएको सेवाग्राहीले समय समयमा अस्पताल प्रशासन र व्यवस्थापन समितिप्रति गर्नै आएको गुनासो हो।

कर्मचारीहरुको असन्तुष्टि :

गेटा आँखा अस्पताल तथा यस अन्तर्गत संचालित विभिन्न आँखा अस्पताल, आँखा उपचार केन्द्रहरुमा कार्यरत कर्मचारीहरुले अस्पताल व्यवस्थापन र प्रशासन प्रति कर्मचारीहरुले चरम असन्तुष्टि जनाएका छन्।

अस्पताल व्यवस्थापन समितिका पदाधिकारी र अस्पताल प्रशासनका कर्मचारीहरुले आफूहरुप्रति गर्ने व्यवहार रुखो, अभद्र भएको, उनीहरुको हकहितका सवालमा विभेदपूर्ण निर्णय गरिने, आफ्नो स्वार्थ केन्द्रित र अनुकूलका व्यक्तिहरुका लागि मात्र अनुकूल निर्णय गर्नुले कर्मचारीहरुबीच तीव्र असन्तुष्टि बढ्दै गएको हो।

१५/२० वर्षदेखि संस्थामा कार्यरत कर्मचारीहरु स्थायी नगरिनु, बढुवा प्रक्रिया अघि नबढाउनु, तालिमका अवसरमा आफू अनुकूल र निकटका व्यक्तिलाई मात्र अवसर प्रदान गर्ने लगायतका विभिन्न कारणले अस्पताल व्यवस्थापन समिति र अस्पताल प्रशासन विरुद्ध स्वास्थ्य सेवा अबरुद्ध नगरी बेला बेलामा आफ्ना जायज मागहरु उठान गर्दै आएका थिए।

शान्तिपूर्वक कर्मचारीहरुले आफ्ना जायज मागहरु राख्दै गर्दा ती मागहरु सम्बन्धित निकायबाट सम्बोधन गर्नुको साटो कर्मचारीहरुलाई कारबाही, मानसिक तनाव, मनोबल घटाउने लगायतका कार्यहरु व्यवस्थापनबाट गरिँदै आए।

कर्मचारीहरुले ६/७ वर्षदेखि निरन्तररुपमा आफ्ना विविध मागहरु लिखित हस्ताक्षर सहित अस्पताल प्रशासन र व्यवस्थापन समितिलाई बुझाउँदै आएका थिए।

ती मागहरु सम्बोधन नभएपछि कर्मचारीहरु तीव्र असुन्तुष्टिसहित शान्तिपूर्ण तवरले संस्थाको स्वास्थ्य सेवा अबरुद्ध नहुने गरी आन्दोलनमा उत्रन बाध्य भएका हुन् ।

के छन् कर्मचारीहरुका माग ?

१.अस्पताल व्यवस्थापन समिति, अस्पताल प्रशासनको विभिन्न महत्वपूर्ण मिटिङ, बैठकमा अस्पतालमा कार्यरत कर्मचारीमध्येबाट दृष्टि विशेषज्ञ पवन शाह र नेत्र सहायक मिना विष्टलाई अनिवार्य रुपमा आमन्त्रित गर्नुपर्ने निर्णय गर्नुपर्ने।

२. नेपाल सरकार, विभिन्न सार्वजनिक संघ–संस्थाबाट अनिवार्य अवकाश पाएका कुनै पनि व्यक्तिलाई संस्थामा कर्मचारी नियुक्ति गर्न नपाइने।

३.कर्मचारीको स्थायी तथा बढुवाको निश्चित मापदण्ड बनाइनुपर्ने। ओ.एनएम सर्वेको काम तत्काल सम्पन्न गर्नुपर्ने। योग्य भएका कर्मचारीहरुको हकमा तत्काल दरबन्दी सृजना गरी बढुवा गरिनुपर्ने।

४. कर्मचारीको सामूहिक मागलाई २ जना कर्मचारीहरुलाई पूर्वाग्रही ढंगले लक्षित गरि अस्पताल प्रशासनबाट लेखिएको स्पष्टीकरण पेश गर्ने सम्बन्धको निर्णय पत्र अस्पताल प्रमुखले तत्काल फिर्ता लिनुपर्ने।

५.अस्पतालमा संस्थाको हकहितका साथै कर्मचारीको समेत हकहितका निम्ति जायज मागहरु राखेकै भरमा पूर्वाग्रही रुपमा बुद्ध मन्दिर आँखा उपचार केन्द्रमा सरुवा गरिएका कर्मचारीको सरुवाको निर्णय फिर्ता लिइनुपर्ने।

६. आईतबारको सार्वजनिक विदाका दिनमा अस्पतालमा ड्युटीमा आउनु भएका कर्मचारीहरुलाई उक्त दिनको सट्टा विदा वा दैनिक भत्ताको व्यवस्था गर्नुपर्ने।

७. एक कर्मचारी, एक जिम्मेवारी दिईनुपर्ने ।

८. गेटा आँखा अस्पताल व्यवस्थापन समितिबाट आर्थिक हिनामिना गरेको आरोपबाट निकालिएका कर्मचारी राजेन्द्र पनेरुले उच्च अदालत दिपायलबाट उहाँको पक्षमा मुद्दा फैसला भई गेटा आँखा अस्पतालमा पूर्ववत् सेवामा बहाल गर्नु गराउनु भनि विपक्षी गेटा आँखा अस्पताल कैलालीको नाउँमा परमादेश समेत जारी गरिसकेको हुँदा उहाँलाई स–सम्मान अस्पतालमा पुर्नवहाली गराइनुपर्ने।

९.फर्जी करचुक्ताका आधारमा टेण्डर छनौटमा भएको अनियमितामा संलग्न कर्मचारीहरुलाई कारबाही तथा सत्यतथ्य छानविन समिति गठन गर्नुपर्ने।

१०. अस्पतालमा कार्यरत वरिष्ठ कर्मचारीहरुको विशेष भत्ता कटौती गरिनुपर्ने।

११. अस्पतालमा रिक्त वार्ड ईन्चार्जको पदपूर्ति गर्नुपर्ने। अस्पतालबाट संचालित आँखा अस्पताल, सर्जिकल सेन्टरमा रिक्त रहेको नेत्र विशेषज्ञ, दृष्टि विशेषज्ञको दरबन्दी सृजना गर्नुपर्ने (धनगढी बुद्धमन्दिर सर्जिकल सेन्टर, टीकापुर आँखा अस्पताल, डडेल्धुरा आँखा अस्पताल ।)

१२.कर्मचारीहरुलाई तालिमको समान अवसर प्रदान गर्नुपर्ने। (कुन कर्मचारी, कुन तालिममा सहभागी हुन गएको हो। उक्त व्यहोरा कर्मचारी सूचना पाटीमा स्पष्ट रुपमा लेखिनुपर्ने)

१३.अस्पतालमा ३-३ महिनामा अनिवार्य रुपमा कर्मचारी मिटिङ राख्नुपर्ने।

१४.गेटा आँखा अस्पताल तथा यस अन्तर्गत संचालित आँखा उपचार केन्द्रमा कार्यरत कर्मचारीहरुलाई नेत्र ज्योति संघको सदस्यता खुला गर्नुपर्ने। साथै नेत्र ज्योति संघको निर्वाचनमा मताधिकारको पनि व्यवस्था गर्नुपर्ने।

१५.अस्पतालमा आई वर्कर पदमा कार्यरत कर्मचारीहरुलाई विगतमा लिइएको ट्रेनिङ सम्पन्न गरेको प्रमाण पत्र उपलब्ध गराईनुपर्ने।

१६.अस्पतालमा पारदर्शिता र सुशासन कायम गरिनुपर्ने ।

१७. अस्पताल व्यवस्थापन समितिले योग्य ठानी गेटा आँखा अस्पतालमा कार्यरत वरिष्ठ कर्मचारीहरुको गरेको बढुवा प्रक्रियामा पुनरावलोकन गरिनुपर्ने।

१८. यस वर्षको बजेटमा कर्मचारीहरुका लागि बृद्धि गरिएको २१% तलब भत्ता रकम सम्बन्धित निकायबाट निर्णय गरी कर्मचारीहरुलाई समयमै उपलब्ध गराईनुपर्ने।

स्थानीयहरुको असन्तुष्टि :

गेटा आँखा अस्पतालको स्थापनाका दिनमा पुरानो गेटा गाविस र हालको गोदावरी नगरपालिकाका स्थानीय बासिन्दाको महत्वपूर्ण भूमिका र यो संस्थाको स्थापना हुँदै गर्दा उहाँहरुको अतुलनीय योगदान रहेको छ। गाउँले, स्थानीयको सहयाेग विना गेटा आँखा अस्पतालले आजको उँचाइ लिन सक्ने थिएन।

संस्था स्थापना गर्दाका बखत यहाँका स्थानीय बुद्धिजीवी, समाजसेवी र अगुवाहरुले अस्पतालका लागि आवश्यक भवन निर्माणका लागि निःशुल्क काठको व्यवस्था, माटो व्यवस्था, निःशुल्क रुपमा श्रमदान लगायतका विभिन्न प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गरेका थिए।

अस्पताल व्यवस्थापन समिति र अस्पताल प्रशासनको वेतिथि बिरुद्ध समय–समयमा कर्मचारीहरु आन्दोलित हुनुपर्ने, टेण्डर प्रक्रियामा अनियमिततामा भएका समाचार बेला बेलामा आइरहने ।

अस्पताललाई आवश्यक विभिन्न सामाग्रीहरु आफ्ना नातागोता आफन्तबाट खरीद गर्ने, आफू अनुकूलका अवकाश प्राप्त कर्मचारीलाई लामो समयसम्म नियुक्ति दिने, वरिष्ठ कर्मचारीहरुबाट महिला कर्मचारी र आँखा विषय पढ्ने विद्यार्थीमाथि यौन दुर्व्यवहार, महिला हिंसा लगायतका विभिन्न अराजक गतिविधि बढ्दै जानुले संस्थाको गरिमामा आँच आउने गतिविधिले स्थानीय बुद्धिजीवी, नागरिक समाजका अगुवा, समाजसेवी व्यक्तिले यही जेठ १९ गते विभिन्न जायज मागहरु राख्दै गेटा आँखा अस्पताल संघर्ष समिति गठन गर्नुपर्ने वाध्यात्मक अवस्थाको सृजना भएको हो।

संघर्ष समितिका मागहरु

१.कर्मचारीमाथिको प्रशासकीय दमनको अन्त्य गर्दै न्यायोचित मूल्यांकन हुनुपर्ने।

२.उमेर हदका नाघेका प्रशासनिक कर्मचारीहरु ४ जनाको अवकाश दिनुपर्ने। दीर्घबहादुर चन्द, गोविन्द प्रशाद जोशी, रमेश चन्द्र भट्ट र राजबहादुर चौधरी।

३.नेपाल नेत्र ज्योति संघको आजिवन सदस्यता खुल्ला गर्नुका साथै स्थानीय नागरिकको अस्पताल प्रतिको बढी दायित्व भएको हुँदा ५०% स्थानीय प्रतिनिधित्व हुनुपर्ने।

४.केही निहित व्यक्तिको उपस्थितिमा बनेको व्यवस्थापन समितिको औचित्यता माथि प्रश्न खडा भएको हुँदा तत्काल आजिवन सदस्य खुलासंगै उक्त व्यवस्थापन समिति भंग गरि पुनः नयाँ कार्य समिति चयनको वातावरण बनाउनुका साथै उक्त समितिमा अध्यक्ष सहित ५० प्रतिशत स्थानीय सहभागिता हुनुपर्ने।

५.आजिवन सदस्यता शुल्क साधारण नागरिकको पहुँचभन्दा माथि २५ हजार सुन्नमा आएको हुँदा उक्त सदस्यता शुल्क न्युनतम हुनुपर्ने।

६.सुदूरपश्चिमकै प्रमुख आँखा अस्पताल भएको हुँदा पर्याप्त चिकित्सकहरु आवश्यक्ता भएको हुँदा उक्त पदपूर्ति गर्नुपर्ने।

७.अस्पतालमा आवश्यक विभिन्न खाले खरीद सामाग्रीहरु व्यवस्थापन समिति, अस्पताल प्रशासनका आफन्त, स्वार्थ केन्द्रित व्यक्तिलाई नदिई हरेक सामाग्रीहरु खरीद गर्दा पारदर्शी प्रक्रिया अपनाइनुपर्ने।

८.उक्त प्रस्तावहरु ३ दिन भित्र सम्म सम्बन्धित सरोकारवाला निकायबाट सम्बोधन नभएको खण्डमा संर्घष समिति चरणबद्धरुपमा आन्दोलन गर्न बाध्य हुनेछ।

उक्त स्थितिबाट उत्पन्न वा सृजना हुने वातावरणले कुनै किसिमको हानी, नोक्सानी भएमा सो को जिम्मेवारी गेटा आँखा अस्पताल व्यवस्थापन समिति, अस्पताल प्रमुख, प्रशासनले लिनुपर्नेछ।

संस्था भित्र भएको वेतिथि, अनियमितता, पारदर्शिता र विषम परिस्थितिलाई साम्य पार्न सम्बन्धित सरोकारवाला निकायलाई गंभिरतापूर्वक लिन हुन हार्दिक अपिल गरिन्छ।

लेखक : नेपाल परिवार नियोजन संघका पूर्व अधिकृत, संघर्ष समितिका अगुवा, स्थानीय समाजसेवी हुन् ।

गिरी राज भण्डारी गेटा आँखा अस्पताल