काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा चितवन राप्ती नगरपालिका-७ घर भई ललितपुर महानगरपालिका-१५ बस्ने ४४ वर्षीय धिरेन्द्र चौधरी, धनुषाको धनुषाधाम नगरपालिका-७ घर भई काठमाडौं महानगरपालिका-७ बस्ने ३६ वर्षीय राज कुमार महरा र मकवानपुर ईन्द्रसरोवर गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-१५ बस्ने ३२ वर्षीय चन्द्र ब्लोन रहेका छन् ।
पक्राउ परेकामध्ये धिरेन्द्रले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ४८ हजार रूपैयाँ, राज कुमारले कुवेत पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ९० हजार रूपैयाँ र चन्द्रले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएपछि प्रहरीमा जाहेरी परेको परेको थियो ।
पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले धिरेन्द्रलाई ललितपुर महानगरपालिका-१५ बाट र राजकुमारलाई काठमाडौं महानगरपालिका-७ बाट तथा चन्द्रलाई काठमाडौं महानगरालिका-१२ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।