Logo
१२ पुस २०८१, शुक्रबार

नेपालमा ‘पुष्पा टु’ थ्रीडीमा हेर्न नपाइने,पैसा फिर्ता लिन हलको आग्रह 

अक्षरपाटी
२०८१ मंसीर २० , बिहीबार ११:१२ मा प्रकाशित

काठमाडौं । आजदेखि विश्वभर प्रदर्शनमा आएको भारतीय चलचित्र पुष्पा टु थ्रीडी प्रविधिमा हेर्न नपाइने भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार निर्माता पक्षले नै प्राविधिक त्रुटिको कारण देखाउँदै फिल्मको थ्रीडी भर्सन रिलिज गर्ने मिति अन्तिम समयमा आएर सारेको हो ।

नेपालका विभिन्न हलहरूले फिल्म थ्रीडीमा देखाउने भन्दै टिकेटको मूल्य ५० रुपैयाँ बढाएका थिए । फिल्म तत्कालका लागि थ्रीडीमा रिलिज नहुने भएपछि सम्बन्धित हलको काउन्टरबाट फिर्ता गराउने व्यवस्था मिलाइएको हलहरूले जनाएका छन् ।

क्यूएफएक्स सिनेमाले वेबसाइटमा सूचना राख्दै भनेको छ, “आदरणीय ग्राहकवर्ग, पुष्पा टुः द रुलको थ्री रिलिज हाललाई ढिला भएको जानकारी गराउन चाहन्छौं ।”

क्यूएफएक्सले अहिलेलाई सिनेमा केवल टुडी मात्र उपलब्ध भएको जनाएको छ । थ्रीडी मूल्यको रकम फिर्ता लिनका लागि प्रवेशद्वारमा सम्पर्क गर्न क्यूएफएक्सले अनुरोध गरेको छ ।

त्यस्तै आईएनआई सिनेमाजले पनि थ्रीडी भर्सन उपलब्ध गराउन नसकेकोमा टिकट काटिसकेका दर्शकसँग माफी मागेको छ । वेबसाइटमा सूचना राख्दै उसले थ्रीडी भर्सन केही दिनपछि रिलिज हुने जानकारी दिएको छ । थ्रीडी स्क्रिनिङका लागि लिएको थप ५० रुपैयाँ बक्स अफिसबाटै फिर्ता गराइने जानकारी दिइएको छ ।

अन्य सिनेमा हलहरूले पनि सामाजिक सञ्जाल मार्फत थ्रीडी भर्सन उपलब्ध गराउन नसकेको जानकारी दिएका छन् ।

यो फिल्म थ्रीडी भर्सनमा १३ डिसेम्बरमा रिलिज हुने बताइएको छ ।