Logo
१ पुस २०८१, सोमबार

मण्डला नाटक घरमा ‘हरि हजुरबा’ मञ्चन हुने

अक्षरपाटी
२०८१ मंसीर ३० , आईतबार ०२:१२ मा प्रकाशित

काठमाडौँ । थापागाउँस्थित मण्डला नाटक घरमा पुस ४ गतेदेखि नाटक ‘हरि हजुरबा’ मञ्चन हुने भएको छ ।

अभिनेता नाजिर हुसेनको लेखन, परिकल्पना तथा निर्देशनमा नाटक मञ्चन हुन लागेको हो ।

यसमा नाजिर स्वयंसहित अभिनेता विजय बराल देखिँदै छन् । साथमा रियुल्साङ, सबिना थापा, रोहित शाह, सुजना पाण्डे, मनिष पाण्डे र रिसु राउतको अभिनय रहनेछ ।

निर्मातामा अभिनेताद्धय दयाहाङ राई र बुद्धि तामाङ छन् । नाटकले द्वन्द्वले पारेको प्रभाव र मानवीय सम्बन्धको गहिराइलाई उजागर गर्नेछ । चिठी पुगाउँदै हिँड्ने हुलाकी केटो हरि र द्वन्द्वमा हराएकी नातिनीलाई पर्खिरहेका हजुरबाको मार्मिक कथा नाटकमा प्रस्तुत गरिनेछ ।

नाटकको कथा र लेखन कविताबाट उत्प्रेरित छ, जसलाई कथाको रूप दिनुका साथै नाटकको संरचनामा प्रस्तुत गरिएको छ । यस नाटकलाई द्वन्द्वले दिएको घाउमा मलम लगाउने प्रयासका रूपमा सिर्जना गरिएको छ ।

आउँदो बिहीबारदेखि सुरू हुने नाटक पुस २८ गते (आइतबार) सम्म सोमबार बाहेक प्रत्येक दिन नाटक मञ्चन हुनेछ । शनिबार भने दिउँसो १ बजे र साँझ ५:१५ बजे दुईवटा शो हुनेछन् ।

नाटकका सन्देश र प्रस्तुतिले दर्शकलाई गहिरो अनुभूति दिने ‘हरि हजुरबा’ टिमको अपेक्षा छ ।