कैलाली । कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराहबाट भारतको पलिया बस्ने ४४ वर्षीय दीपक गुप्ता र ३४ वर्षीय सुमित बर्मालाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक पदमबहादुर बिष्टका अनुसार यूपी ३२ जेभी ९२०० नम्बरको कारलाई शंका लागि चेकजाँच गरिएको थियो ।
‘उक्त गाडीभित्र राखिएको ज्याकेटको खल्तीमा लुकाईछिपाई ५४९.२०० ग्राम सुन जस्तो देखिने पदार्थका दुई टुक्रा फेला परेपछि गुप्तालाई पक्राउ गरिएको हो,’ उनले भने, ‘गाडीमा सवार बर्मालाई पनि पक्राउ गरेका छौँ ।’
उनीहरूको साथबाट एक थान ल्यापटप, दुई थान मोबाइल, ४४ हजार ८१० नेपाली रुपैयाँ, एक हजार दुई सय ८० भारतीय मुद्रा र कार बरामद गरिएको एसपी बिष्टले बताए ।