Logo
१७ असार २०८२, मंगलबार

शुक्रबार साँझबाट चिसो बढ्न सक्ने सम्भावना

अक्षरपाटी
२०८१ पुस ११ , बिहीबार ०५:१२ मा प्रकाशित

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले शुक्रबार साँझदेखि अर्को पानी पार्ने प्रणाली भित्रन लागेको बताएको छ।

बिहीबार अपराह्न विशेष बुलेटिन जारी गर्दै विभागले पश्चिमी न्यूनचापीय प्रणालीको कारण शुक्रबारको साँझबाट नेपालको धेरै स्थानहरूमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको बताएको हो।

उक्त प्रणालीको प्रभावका कारण शुक्रबार अपराह्नदेखि शनिबारसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका अधिकांश स्थानहरूमा तथा गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको विभागको भनाइ छ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानहरू र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

यस मौसम प्रणालीको असरले तापक्रम समेत घट्न गइ चिसो बढ्न सक्ने सम्भावना रहेको महाशाखाले बताएको छ।

वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूलाई पनि विभागले अनुरोध गरेको छ।