काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सडकबाट दबाव नदिएसम्म शान्ति प्रक्रियाका बाँकी काम टुंगो नलाग्ने बताएका छन्।
बुधवार काठमाडौँमा शान्ति प्रक्रिया र बेपत्ता नागरिकहरूको सार्वजनिकीकरणको सवाल विषयक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्। उनले अहिलेसम्मको स्थिति हेर्दा सडकबाट आन्दोलन नगरेसम्म शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन नसक्ने अवस्था रहेको बताए। उनले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने विषय राजनीतिक कारणले अड्किएको बताए। शान्ति प्रक्रियाका काम टुंग्याउने विषयलाई कतिपयले बिजनेसको रूपमा लिएको र कतिपयले माओवादीलाई तह लगाउने अन्तिम अस्त्रको रूपमा लिएकाले टुंगिन नसकेको बताए।
प्रचण्डले भने, ‘पीडितहरूले पटक पटक यो विषयलाई उठाइराख्नु, जरुरी पर्दा सडकमा पनि जाने तयारी गर्नुपर्छ। यहाँ विषय कानूनीभन्दा पनि राजनीतिक नै छ। १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौता आफैँमा राजनीतिक सहमतिका दस्ताबेज हुन्। ती सम्झौता सबै संविधानको अंगको रूपमा मानिएको छ तर कुरा अहिले टुंग्याउन कठिन भएको राजनीतिक कारणले नै हो।’
प्रचण्डले सडकबाट राज्यलाई र राजनीतिक नेतृत्वलाई अब नसुध्रिए बर्बाद हुन्छ भन्ने ठाउँमा नपुर्याएसम्म शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन अर्को १८ वर्ष लाग्नसक्ने बताए।
पुष्पकमल दाहाल प्रचण्ड