Logo
१५ जेठ २०८३, शुक्रबार

संविधान र गणतन्त्रको रक्षा गर्न प्रचण्डको आह्वान, उपलब्धि कमजोर पार्ने प्रयासप्रति सचेत रहन आग्रह

अक्षरपाटी
२०८३ जेठ १५ , शुक्रबार १०:०५ मा प्रकाशित

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा सबै नेपालीको पहिलो जिम्मेवारी भएको बताएका छन् ।

गणतन्त्र दिवस २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले परिवर्तनका उपलब्धिलाई कमजोर बनाउने कुनै पनि प्रयासप्रति सचेत रहन आग्रह गरेका हुन् ।

उनले नेपाली जनताको लामो संघर्ष, हजारौं सहिदको बलिदान, त्याग र समर्पणबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गर्दै यसको संरक्षण र सुदृढीकरणमा सबै एकजुट हुनुपर्ने बताए ।

प्रचण्डले राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका लागि राजनीतिक दल तथा आम नागरिकबीच सहकार्य आवश्यक रहेको धारणा राखेका छन् । ‘हामीबीच राजनीतिक मतभेद हुन सक्छन्, संसदीय अंकगणित फरक हुन सक्छ, तर राष्ट्रिय सरोकारका विषयमा संवाद र सहकार्य हाम्रो संस्कार बन्नुपर्छ,’ उनले सन्देशमा उल्लेख गरेका छन् ।

उनले संविधानको मूल मर्म, मूल्य र उपलब्धिमाथि सम्झौता गर्ने छुट कसैलाई नभएको स्पष्ट पार्दै संविधान कार्यान्वयनमा देखिएका कमजोरी सच्याउनुपर्ने आवश्यकता औंल्याए । राज्य सञ्चालनमा रहेको परम्परागत परिपाटी र स्वेच्छाचारिताको अन्त्य गर्दै जनताको अधिकार, लोकतान्त्रिक मूल्य र समावेशितालाई अझ सुदृढ बनाउनुपर्ने उनको भनाइ छ ।

प्रचण्डले गणतन्त्रको विकल्प अझ समुन्नत गणतन्त्र भएको उल्लेख गर्दै समावेशी र पूर्ण समानुपातिक व्यवस्था सुनिश्चित गर्नुपर्ने बताए । साथै उपेक्षित, उत्पीडित वर्ग, समुदाय र क्षेत्रका अधिकारलाई थप मजबुत बनाउनु अहिलेको आवश्यकता रहेको उनको भनाइ छ ।

उनले नेपाली जनताको संघर्षबाट प्राप्त उपलब्धिको संरक्षण गर्दै समृद्ध, न्यायपूर्ण र आत्मनिर्भर नेपाल निर्माणका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

गणतन्त्र दिवस पुष्पकमल दाहाल प्रचण्ड

ट्रेन्डिङ ( साप्ताहिक )