Logo
२३ माघ २०८१, बुधबार

अख्तियारलाई हर्क साम्पाङको जवाफ : श्रमदान अभियानको खेदो नखन्नु

अक्षरपाटी
२०८१ माघ ११ , शुक्रबार ०२:०१ मा प्रकाशित

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूविरुद्ध परेको उजुरीउपर अख्तियारले गरेको सोधपुछमा ‘ठट्यौलो’ जवाफ फर्काएका छन् । उनको औपचारिक पत्रमा अनौपचारिक र बोलिचालीको भाषा प्रयोग गरिएको छ ।

श्रम संस्कृति पार्क निर्माण, खानेपानी आयोजनाहरू निर्माण र सुम्निमा पारुहाङको मुर्ती निर्माणमा अख्तियारको दुरुपयोग गरेको र अनियमितता भएको भन्दै हर्कविरुद्ध परेको उजुरी अख्तियारले केही महिनायता केलाइरहेको छ । आफूले अख्तियारलाई पठाएको जवाफ हर्कले फेसबुकमा राखेका छन् ।

पत्रमा लेखिएको छ– धरानको खानेपानी बोर्ड स्वायत्त निकाय हो । यसले आफ्नो नगरवासीलाई पानीको आपूर्ति गर्न सबैखाले विधि अपनाउन सक्छ । बिहान उठ्ने वित्तिकै ट्वाइलेट जानुपर्छ । ट्वाइलेटमा पानी छैन भने के हुन्छ, त्यो भनिरहन पर्दैन होला । केही छिनपछि भात पकाउन परो । भात पकाउन पानी चाहिन्छ । भात खाएपछि हातमुख चुठ्नु परो । त्यसका लागि नि पानी चाहिन्छ । जुठो भाँडा लडाइराख्न मिलेन । धुनै परो । त्यसका लागि नि पानी नै चाहिन्छ। फोहोर लुगा भएन धुनै परो । लुगा धुन नि पानी नभइ नहुने । स्वास्थ रहनलाई प्रशस्त पानी पिउनुपर्छ र दैनिक नुहाउनुपर्छ भन्छ केही नजान्ने डब्लुएचओले । नुहाउनलाई नि पानी चाहियो । यसो करेसाबारी र बगैंचातिर नि पानी चाहिने नै भो । फेरि सुँगुर चौपायालाई पिन पानी नखुवाई नहुने । त्यसो भएको खुनाले धरानवासीको जीवन बचाउन र जीवन चलाउन जसरी भए पनि काम त गर्नैपरो मैले, इन फ्याक्ट हाम्ले ।

उनले धरानको खानेपानी बोर्ड स्वायत्त निकाय भन्दै यसले नगरबासीलाई पानीको आपूर्ति गर्न सबै खाले विधि अपनाउन सक्ने जिकिर गरेका छन् । हरेक काममा पानी चाहिने भन्दै उनले केन्द्र सरकारलाई गरेको अनुरोध नसुनेकोले थोत्रे गाग्री लिएर काठमाडौं जानुपरेको बताएका छन् ।

‘कोशीबाट पानी ल्याइदिनु है भनेर वर्षों बिन्ती बिसाउँदा पनि नसुनेकोले अस्ति थोत्रे गाग्री लिएर सिंहदरबार पुगेँ । जनतालाई पानी चाहिएको छ है तत्काल पानी चाहिएको छ । आश्वासन र कागजको खोस्टा होइन पानी चाहिएको छ के ! त्यसैले हाम्ले श्रमदान गर्नु परेको हौ‘ खोइ कुरा बुझ्या !’

उनले अख्तियारले राज्यको ढुकुटी खर्चिएका ठूलाठूला कुरा नदेखेको र श्रमदानको खेदो खनेको आरोप अख्तियारमाथि लगाएका छन् ।

हर्क साम्पाङ