Logo
२६ वैशाख २०८२, शुक्रबार

‘महाराजधिराज’मा अब्बल कलाकार अनुबन्धित

अक्षरपाटी
२०८२ वैशाख २१ , आईतबार ११:०५ मा प्रकाशित

काठमाडौं । चलचित्र ‘महाराजधिराज’मा एकपछि अर्को चर्चित कलाकारको घोषणा हुँदै जाँदा फिल्मको चर्चा झनै चुलिँदै गएको छ ।

परिच्छेद सेनले निर्देशन गर्नलागेको ‘महाराजधिराज’मा यसअघि रमेश उप्रेती अनुबन्ध भएका थिए।

रमेशभन्दा अगाडि पल शाह अनुबन्ध भएका थिए । यतिबेला नायक आर्यन सिग्देल अनुबन्ध भएका छन् । मुख्य मध्येको एक भूमिकामा आर्यन अनुबन्ध भएको निर्माणपक्षले जनाएको छ ।

आर्यन, रमेश र पलको अनुबन्धले सिनेमाको लाइनअप बलियो हुँदै गएको छ। लाइनअप बलियो हुँदै जाँदा सिनेमाप्रतिको अपेक्षा पनि बढ्दै गएको छ।

‘महाराजधिराज’को पोस्टर यसअघि नै रिलिज भइसकेको छ ।

आर्यनले ‘महाराजधिराज’मा अनुबन्ध हुन पाएकोमा खुशी व्यक्त गर्दै आफ्नालागि फरक चरित्र र दर्शकका लागि नयाँ हुने बताए ।

यो चलचित्रमा जय किशन बस्नेत पनि एक महत्वपूर्ण भूमिकामा देखिने पक्का भइसकेको छ ।

‘महाराजधिराज’मा निर्देशक सेन स्वयंको लेखन रहेको छ । उनले यसअघि निर्देशन गरेको सिनेमा ‘प्रेमगञ्ज’ समीक्षात्मक रुपमा अब्बल ठहरिएको थियो ।

फूलपातीमा प्रदर्शन हुने ‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज बिष्ट हुन्। उनले यसअघि ‘बुलाकी’ निर्माण गरेका थिए, जसले राष्ट्रिय अवार्ड समेत जितेको थियो ।

सिनेमाको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का छन्।