Logo
९ जेठ २०८२, बिहीबार

दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार रकम भने घट्यो

अक्षरपाटी
२०८२ जेठ ९ , बिहीबार ०३:०५ मा प्रकाशित

काठमाडौं । साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बुधबार ७.९४ अंकले घटेको नेप्से परिसूचक आज १९.०४ अंकले बढेर २६८८.५५ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स १.५७ प्रतिशतले बढेर ४५७.९३ विन्दुमा पुगेको छ।

नेप्से दोहोरो अंकले बढेपनि कारोबार रकम भने बुधबारको तुलनामा घटेको छ। बुधबार १० अर्ब ६९ करोड मूल्य बराबरको सेयर कारोबार भएकोमा आज ३१४ स्क्रिप्सको २ करोड २३ लाख ९६ हजार ३२९ कित्ता सेयर ९ अर्ब ८२ करोड २० लाख ७० हजार ६८२ रुपैयाँमा खरिदबिक्री भए।

आज एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। ओम मेघाश्री फर्माक्यु्टिकल्सको सेयर १० प्रतिशतले बढ्यो। यसैगरी एनआईसी एसिया बैंकको सेयर ७.८० प्रतिशतले बढ्दा फर्वाड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ७.१५ प्रतिशत,ग्लोबल आईएमई बैंकको ६.१२ प्रतिशत र कुमारी बैंकको ६.०६ प्रतिशतले सेयर बढ्यो।

बराही हाइड्रोपावरका लगानीकर्ताले भने सर्वाधिक गुमाए। सो कम्पनीको सेयर ९.९९ प्रतिशतले ओरालो लाग्यो। यसैगरी एमबीएल इक्विटी फण्डको सेयर ५.६७ प्रतिशतले घट्दा गरिमा डिवेन्चर २०८५ को ४.९० प्रतिशत र एसियन हाइड्रोपावरको सेयर ४.५६ प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा नगदी ग्रुप पावर शीर्षस्थानमा रह्यो। सो कम्पनीको ६९ करोड मूल्य बराबरको सेयर कारोबार भयो। यसैगरी राधी विद्युतको ६० करोडको सेयर कारोबार हुँदा कुमारी बैंकको ४२ करोड,युनिभर्सल पावरको ४० करोड र माउन्टेन इनर्जीको ३४ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

चार समूहको उपसूचकबाहेक अन्यको उपसूचक सकारात्मक देखिएका छन्। बैंकिङ समूहको उपसूचक सर्वाधिक ३.८२ प्रतिशतले बढ्दा माइक्रोफाइनान्सको २.५८,म्युचुअल फण्डको ०.०६ र नन लाइफ इन्स्योरेन्सको ०.०० प्रतिशतले बढ्यो।

आज होटल्स एण्ड टुरिजम समूहको उपसूचक सर्वाधिक २.६० प्रतिशतले घट्यो। कारोबारमा आएकामध्ये १०४ स्टक्सको मूल्य बढ्दा १४२ वटाको घट्यो। बाँकी एक स्टकको मूल्य भने स्थिर रह्यो।

नेप्से
यो पनि हेर्नुहोस् : नेप्सेमा १९ अंकको वृद्धि