Logo
३ भदौ २०८२, मंगलबार

नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा थप दुई सँस्था आवद्ध

अक्षरपाटी
२०८२ साउन २८ , बुधबार ०६:०८ मा प्रकाशित

काठमाडौं । नागरिक लगानी कोषले सञ्चालन गरेको उपदान तथा पेन्सन योजनामा दुई सँस्था आवद्ध भएका छन्।

उपदान तथा पेन्सन योजनामा एक हजार एक सय कर्मचारी रहेको नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था र एक सयभन्दा बढी कर्मचारी भएको उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड आवद्ध भएका हुन् ।

कोषको यो योजनामा संगठित संस्था तथा त्यस्ता संस्थाका कर्मचारीहरू सहभागी हुनसक्ने व्यवस्था रहेको छ।

यसअन्तर्गत योगदानमा वा गैर योगदानमा आधारित भएर संघ–संस्थाले उपदान कोष व्यवस्थापन गर्न सक्नेछन् ।

सोही व्यवस्था अनुसार दुवै लघु वित्त वित्तीय संस्था कोषको उपदान योजनामा आवद्ध भएका हुन्। यसअघि पनि कोषसँग नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड आवद्ध भइसकेको छ।

कोषले २०५५ देखि सुरु गरेको उपदान तथा पेन्सन योजनामा विभिन्न संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको उपदान तथा पेन्सनबापतको रकम संकलन गरी लगानी गर्ने र कर्मचारी निवृत भएपछि भुक्तानी गर्ने गरिएको छ।

यस योजनामा योगदानमा आधारित र गैर योगदनामा आधारित रकम जम्मा गरी सहभागी हुन सकिने व्यवस्था छ ।

हाल यस योजनामा एक हजार १५० संगठित संस्था र त्यस्ता संस्थामा कार्यरत करिब ३३ हजार कर्मचारी सहभागी रहेका छन्।

यो योजनामा व्यक्तिगत सहभागिता जनाउने कर्मचारीहरूले आवास कर्जा सुविधा, घर मर्मत, पुनर्संरचना, पुनर्तालिकीकरण र घर सजावटका लागि कर्जा सुविधा पाउनेछन्।

सहभागीहरूले आर्थिक, सामाजिक, सांस्कृतिक र पारिवारिक प्रकृतिका भइपरी आउने कार्यका लागि सरल कर्जा सुविधा पाउने व्यवस्था समेत रहेको छ।

नागरिक लगानी कोष