काठमाडौं। देशभर करिब करिब धान रोप्ने काम सकिएको छ।
किसानहरुले खेतीपातीका बेला रासायनिक मल नपाएको गुनासो नयाँ होइन।
देशभर रोपाइँ सकिएपछि बल्ल साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले १५ लाख २३ हजार बोरा रासायनिक मल नेपाल भित्रिने क्रममा रहेको जानकारी गराएको छ।
साल्ट ट्रेडिङ कर्पोरेसनले विज्ञप्ति नै जारी गरेर सो परिणामको मल नेपाल भित्रिन लागेको जनाएको हो।
कतिपय स्थानमा धानबाली पसाउने क्रममा रहेका बेला भित्रिन लागेको रासायनिक कल धेरै किसानका लागि भने हर्ष न विस्मात बन्ने देखिएको छ।
कर्पोरेसनले भारतको कोलकाता बन्दरगाहमा मल आइपुगेको र कर्पोरेशनका गोदममा ल्याउने क्रम चलिरहेको जानकारी गराएको छ। तर सो मल कहिले नेपाल भित्रिने र वितरण हुने भन्ने विवरण भने खुलाएको छैन।
कर्पोरेशनका अनुसार १० लाख ८३ हजार बोरा डीएपी मल र ४ लाख ४० हजार बोरा युरिया गरी १५ लाख २३ हजार बोरा रासायनिक मल आयात भइरहेको छ।
मल वितरणका लागि भने प्रदेश सरकारलाई पत्राचार भइसकेको र प्रदेश सरकारले पनि स्थानीय तहका लागि कोटा निर्धारण गरिसकेको कर्पोरेसनको भनाइ छ।
‘कर्पोरेशनको मल बिक्रेताका रूपमा दर्ता भएका सम्पूर्ण डिलरहरूलाई आफ्नो पालिका तथा कर्पोरेशनको सम्बन्धित कार्यालयसँग समन्वय गरी कोटाअनुसारको मल बिक्री वितरण गर्न अनुरोध गरिन्छ,’ कर्पोरेसनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
बजारमा मलको अभाव भएका खबर पटक पटक आए पनि यसको सुनुवाई भएको थिएन।
किसानको गुनासो निकै आएपछि कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले सरकारी पक्षको बचाउ गरेका थिए।
उनले डीएपी र पोटास मलको आपूर्ति राम्रो रहेपनि युरिया आपूर्तिको अवस्था कमजोर रहेको स्वीकाररेका थिए।
गत बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले दुई कारणले यसो हुन गएको बताएका थिए।
पहिलो कारणमा मूल्य वृद्धि र दोस्रो कारणमा निरन्तरको वर्षाले कोलकाता पोर्टमा मल अनलोड गरी ब्यागिङ गरी रेलमा लोड गर्ने कार्य सुस्त रुपमा भइरहेको बताएका थिए।
रामनाथ अधिकारी रासायनिक मल साल्ट ट्रेडिङ कर्पोरेसन