Logo
१७ भदौ २०८२, मंगलबार

नाडा अटोमोबाईल्समा चरम विवाद, विशेष साधारणसभा नै अन्योलमा

अक्षरपाटी
२०८२ भदौ १७ , मंगलबार १२:०९ मा प्रकाशित

काठमाडौं । नाडा अटोमोवाईल्स एसोसिएसन अफ नेपाल (नाडा) मा विवाद चर्किएको छ।

आन्तरिक विवाद बढेपछि भदौ २४ गतेका लागि बाेलाउने तयारी गरिएको विशेष साधारणसभा नै अन्योलमा परेको छ।

नाडाले आफ्नो १७ औं ‘नाडा अटो शो–२०२५’ समापन कार्यक्रममा संस्थालाई महासंघमा रूपान्तरण गर्ने घोषणा समेत गरेको थियो।

तर, गोल्छा र चौधरी समूहबीचको लामो विवाद झनै चर्किएका कारण जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि विशेष साधारणसभा रोकिएको हाे।

विवादको मुख्य कारण वरिष्ठ उपाध्यक्ष आकाश गोल्छालाई सदस्यमा घटुवा गर्ने र विधान संशोधन प्रक्रिया टुंगोमा नपुगेको भन्ने बुझिएको छ।

‘गैरकानुनी तरिकाले बोलाउन लागिएको विषेश साधारण सभा रोकीपाउँ भनी यस कार्यालयमा भदौ १६ गते निवेदन दर्ता भएकोले विधान बमोजिम साधारण सभा नबोलाएर के कति कारणले विशेष साधारण सभा गर्न लागिएको हो ? जिल्ला प्रशासन कार्यालयमा पटक–पटक विधान संशोधनको विषयमा छलफल भएपनि हालसम्म विवाद समाधान नहुनुको कारण के हो?,’ जिल्ला प्रशासनले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

विशेष साधारणसभा बोलाउनको लागि गरिएका निर्णयहरु सहित ७ दिन भित्र जिल्ला प्रशासनमा उपस्थित हुन र साधारण सभा स्थगित गर्न पनि प्रशासनले भनेकाे छ।

नाडा अटोमोबाईल्स विवाद