Logo
२१ भदौ २०८२, शनिबार

विवाहित महिलाको सौन्दर्य प्रतियोगिता : ट्याग नम्बर र स्यास प्रदान

अक्षरपाटी
२०८२ भदौ २१ , शनिबार ०१:०९ मा प्रकाशित

काठमाडौं । विवाहित महिलाको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वल्र्ड २०२५ को अन्तिम प्रतिस्पर्धामा चयन भएका ३० जना महिलालाई राजधानीमा ट्याग नम्बर र स्यास प्रदान गरिएको छ।

शुक्रवार राती प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा सम्पन्न स्यासिङ सेरोमनीमा मिसेस नेपाल वल्र्ड २०२५ को अन्तिम स्पर्धाका लागि चयन भएका उनीहरूलाई ट्याग नम्बर र स्यास प्रदान गरिएको हो।

अडिसनमार्फत देशका विभिन्न भागका महिला छनोट भई अन्तिम प्रतिस्पर्धामा पुगेका हुन्।

स्यासिङ सेरोमनीमा सहभागीले आफ्नो परिचय प्रस्तुत गरेका थिए।

मिसेस नेपाल वल्र्डको आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाका अनुसार यस संस्करणमा गृहिणी, चिकित्सक, इन्जिनियर, व्यवसायी, स्वास्थ्यकर्मी, शिक्षासेवी, फेसन डिजाइनर, नर्स, कर्मचारी, महिला अधिकारवादी, कानुन व्यवसायी, समाजसेवीदेखि पाइलटसम्मका महिला प्रतिस्पर्धामा रहेका छन्।

यो संस्करणमा चितवनबाट सञ्जु भट्ट, खोटाङबाट इमायुङ राई, सुझाता खनाल, रोजी थापा र चन्द्रकला राई, सर्लाहीबाट कञ्चन झा, ललितपुरबाट श्रीनी ढक्वा, रविना महर्जन, कल्पना विष्ट, रञ्जना बुढाथोकी, कुसुम खड्का र श्रीजना बिष्ट, विराटनगरबाट पुजन ढकाल, काभ्रेपलाञ्चोकबाट अरुणा लामा, नेपालगञ्जबाट एलीना केसी, सुदूरपश्चिमबाट विद्या चौहान, रामेछापबाट निर्मला सुनुवार, लुम्बिनीबाट तारा खनाल र रक्षा पन्त सहभागी छन्।

त्यस्तै ईटहरीबाट दीपिका तामाङ, तेह्रथुमबाट सुम्निमा खापुङ, कीर्तिपुरबाट बिनिता अधिकारी, नवलपरासीबाट गंगा लामिछाने, स्याङ्जाबाट बिष्णु भण्डारी, मकवानपुरबाट सरस्वती विश्वकर्मा, काठमाडौंबाट सजनी जोशी, सुमिना महर्जन र बिष्णु तिमिल्सिना, भक्तपुरबाट सुभाना रोक्का, झापाबाट करुणा श्रेष्ठ अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका छन्।

कार्यक्रममा विभिन्न गीत संगीत र नृत्यसमेत प्रस्तुत गरिएको थियो। सो अवसरमा विद्यार्थी कलाकारले नृत्य प्रस्तुत गरेका थिए भने गायक तथा संगीतकार ओम सुनार र गायिका तथा कार्यक्रम प्रस्तोता जुनु रिजाल काफ्लेले गीत प्रस्तुत गरेका थिए।

प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आगामी असोज २८ गते कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिनेछ।

मिसेस नेपाल वल्र्ड २०२५