


धनगढी । चिकित्सा शिक्षा सुधारका माग राख्दै डा. गोविन्द केसी धनगढीमा अनशन बस्ने तयारीमा रहेका बेला स्थानीयस्तरमा त्यसको विरोध सुरु भएको छ। गेटास्थित शहीद दशरथचन्द मेडिकल विश्वविद्यालय सञ्चालनको अन्तिम तयारी भइरहेका बेला अनशनले प्रक्रिया प्रभावित हुन सक्ने भन्दै स्थानीयले अनशन स्थगित गर्न आग्रह गरेका हुन्।
डा. केसी बुधबार धनगढी आइपुगेका हुन्। उनी धनगढी उपमहानगरपालिका–१ स्थित एलएन चोकको श्रीकृष्ण मन्दिर धर्मशालाको कोठा नम्बर २११ मा बसेका छन्। उनले बिहीबारदेखि सत्याग्रह (अनशन) सुरु गर्ने घोषणा गरेका छन्।
बिहीबार बिहान स्थानीय नागरिकको एक समूहले उनलाई भेट्दै गेटा मेडिकल विश्वविद्यालय सञ्चालनमा अवरोध पुग्ने कुनै पनि गतिविधि नगर्न आग्रह गरेको जनाएको छ। विश्वविद्यालय सञ्चालनको लामो प्रतीक्षापछि प्रक्रिया अगाडि बढिरहेका बेला अनशनले नकारात्मक असर पार्न सक्ने उनीहरूको भनाइ छ।
यसैबीच, कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी र जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्रबहादुर चन्दले पनि डा. केसीलाई काठमाडौंमै अनशन बस्न सुझाव दिएका छन्। कैलालीमा स्वास्थ्य अवस्था जटिल बने उपचार व्यवस्थापन गर्न कठिन हुन सक्ने भन्दै उनीहरूले यस्तो सुझाव दिएको जनाइएको छ।
डा. केसीले यसअघि साउन ५ गतेसम्म आफ्ना पाँचबुँदे माग पूरा गर्न सरकारलाई समय दिएका थिए। तर, सरकारले कुनै चासो नदिएपछि सत्याग्रहमा बस्न बाध्य भएको उनको तर्फबाट विजयबाबु शिवाकोटीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। आन्दोलनबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी सरकारकै हुने चेतावनी पनि विज्ञप्तिमा दिइएको छ।
उनका मुख्य मागहरूमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को प्रभावकारी कार्यान्वयन, चिकित्सा शिक्षालाई पूर्ण रूपमा गैरनाफामूलक बनाउने व्यवस्था, निजी मेडिकल कलेजमा सिट वृद्धि तथा छात्रवृत्ति कटौतीसम्बन्धी निर्णय खारेज, चिकित्सा शिक्षा आयोग तथा शहीद दशरथचन्द मेडिकल विश्वविद्यालयमा भएका विवादित नियुक्ति बदर, साथै सुदूरपश्चिमलगायत सीमावर्ती क्षेत्रमा स्वास्थ्य, शिक्षा, यातायात र रोजगारीका पूर्वाधार विस्तार रहेका छन्।
डा. केसीले आफू मेडिकल विश्वविद्यालय सञ्चालनको विरोधमा नभई यसको शीघ्र सञ्चालन र सुदृढीकरणको पक्षमा रहेको स्पष्ट पार्दै विश्वविद्यालयलाई राजनीतिक वा व्यापारिक स्वार्थको केन्द्र बनाउन नहुने धारणा राखेका छन्।
यद्यपि, गेटा मेडिकल विश्वविद्यालय सञ्चालनको प्रक्रिया तीव्र बनिरहेका बेला धनगढीमा सुरु हुन लागेको उनको अनशनलाई लिएर स्थानीयस्तरमा असन्तुष्टि बढ्दै गएको छ। सामाजिक सञ्जालमा समेत विश्वविद्यालय सञ्चालनमा असर पुग्ने खालका आन्दोलन नगर्नुपर्ने धारणा व्यक्त भइरहेका छन्।
अनशन डा. गोविन्द केसी

