Logo
२६ भदौ २०८२, बिहीबार

क्षतिको दाबी भुक्तानी छिटो गर्नु : बीमा प्राधिकरण

अक्षरपाटी
२०८२ भदौ २६ , बिहीबार ०७:०९ मा प्रकाशित

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जेनजीको अगुवाईमा भएको पछिल्लो आन्दोलनका क्रममा विकसित घटनाक्रमपछि भएको घटनाको क्षतिमा आउने बीमा दाबी भुक्तानी छिटो र सहज गर्न बीमा कम्पनीलाई निर्देशन दिएको छ।

प्राधिकरणले बिहीबार निर्देशन जारी गर्दै देशको परिस्थिति असहज भएकाले सहज र छिटो दाबी भुक्तानी गर्न भनेको छ।

गत सोमबारदेखि जेनजीले सुरु गरेको आन्दोलनको पहिलो दिन सोमबार करिब २० युवा तथा विद्यार्थीको मृत्यु भयो।

त्यसपछि अक्रोशित प्रर्दशनकारीहरुले भोलिपल्ट मंगलबार देशैभरि आक्रमण, तोडफोड र आगजनी गरेका थिए।

प्रदर्शनकारीले देशको मुख्य प्रसाशनिक केन्द्र सिंहदरबार सहित अधिकांश सरकारी कार्यलयमा तोडफोड तथा आगजनी गरेका छन्।

सरकारी तथा निजी सम्पत्तिमा तोडफोड तथा आगजनीबाट अर्बौं रुपैयाँ बारबर नोक्सानी भएको छ।

यसरी भएको क्षतिमा बिमितको धनसम्पत्ति परेको र माग दाबी आएको अवस्थामा भुक्तानी प्रक्रिया सहज र छिटो गर्न प्राधिकरणले निर्जीवन बीमा कम्पनी तथा निर्जीवन लघु बीमा कम्पनीलाई निर्देशन दिएको हो।

प्राधिकरणले कुन–कुन शीषर्कमा माग दाबी आएको हो, त्यसको समयमा विवरण पेस गर्नुपर्ने व्यवस्था गरेको छ।

प्राधिकरणले सम्पत्ति, निजी तथा सार्वजनिक गाडी, सामुद्रिक, इन्जिनियरिङ तथा ठेकेदार जोखिम, हवाई, कृषि बाली, पशुपन्छी र विविध शीर्षकका बीमालेखमा आएका दाबीको छिटो र सहज भुक्तानी गर्न निर्देशन दिएको हो।

बीमा प्राधिकरण