Logo
२८ भदौ २०८२, शनिबार

स्वच्छ हृदयहरूको बलिदानले लेख्न खोजिएको छ सुनौलो भविस्य

अक्षरपाटी
२०८२ भदौ २८ , शनिबार ११:०९ मा प्रकाशित

o उषा जोशी

हजारौं आँखाले देखेका सपनाहहरू
लाखौं मानसपटलमा पलाएका आशाहरू
पटक, पटक निमोठिएकाछ्न, निर्मम हातबाट
र लत्याइएका छन् , फोहरका टोकरीमा
कुनै दुर्गन्धित बस्तु झैँ ।

कालो बादलको मुस्लो भित्रबाट निस्केर
सुन्दर र सफा आकाशमा पुग्ने रहरहरू
कैयौं पटक निसास्सिएका छन् , अन्तरिक्षमा
गर्भाशयमै निदाएको बालक झैँ
फेरि कहिल्यै नबिउँझिने गरि ।

लाखौं भोकले मडारिएका पेटहरू
भरिनै नसकेपछि आमाहरूको ममताले
बेचिरहेका छन् अमूल्य रगत र पसिना
र फर्किरहेका छन् कोहि बाकसहरूमा
फेरि कहिले नभोकाउने गरि ।

हजारौं निर्दोश छोरीका चोलीहरू
च्यातिएका छन् आततायी हातहरूबाट
र नङ्याइएका छन् अङ्गहरू पटक पटक
कहिले आफ्नै घर र दोबाटोमा अनि
कहिले खुला इजलासहरूमा ।

मेटाइएका छन् नियतबस सुन्दर इतिहास
रित्याइएका छन् दर्जनौँ काखहरू
छरिएका छन् भ्रमका बिउहरू जताततै
र रोपिएका छन् आशंकाका बोटहरू
कलिला ती मस्तिष्कहरूमा ।

हजारौं स्वच्छ हृदयहरूको बलिदानले
लेख्न खोजिएको छ सुनौलो भविस्य
ल्याउन खोजिएको छ सुन्दर बिहानी
न छोपोस अब कुनै निर्दयी अध्यारोले
औँशीको कालो रात बनेर ।

पटक पटक निभेका ठुटाहरू जोडेर
बाल्न खोजिएको छ आशाको दीपक
मुस्कुराउन खोजेका छन् ओठहरू
नलागोस कालो नजर कुनै बैरीको
छरियोस खुसी अनन्त अनन्त !!!

उषा जोशी
यो पनि हेर्नुहोस् : गजल : …त्यो प्रेम हो