
धनगढी। भदाै २४ गते देशभर भएको जेन-जी आन्दोलनका क्रममा कैलालीको गौरीगङ्गा नगरपालिकाकाे कार्यालय र कार्यालयमा रहेका उपकरणहरूमा भएको क्षतिलाई मध्यनजर गर्दै धनगढी उपमहानगरपालिका–५ शिवनगरस्थित चैतन्य पाठशालाले एक थान प्रिन्टर सहयोग गरेको छ।
आन्दोलनका क्रममा आक्रोशित भीडले नगरपालिकाको कार्यालयमा आगजनी गरेको थियो। आगलागीका कारण नगरपालिका क्षतिग्रस्त बनेपछि तत्कालीन राहत तथा पुनर्निर्माणमा हातेमालो गर्ने उद्देश्यले विद्यालयले सहयोग गरेको हो।
यसअघि आजै विद्यालयले जिल्ला प्रशासन कार्यालय कैलालीलाई तीन थान कम्युटर र दुईवटा टेबल सहयाेग स्वरुप हस्तान्तरण गरेको थियाे।

राहत सामग्री र सहयोग रकम विद्यालयका प्रतिनिधिहरूले गौरीगङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई हस्तान्तरण गरेका हुन।
कार्यक्रममा चैतन्य ग्रुप अफ कम्पनीका सिइओ गणेश प्रसाद जोशी, चैतन्य पाठशालाका पिटिए अध्यक्ष ईश्वर गिरी, सुदूरपश्चिम प्रदेश सरकारका स्वास्थ्य दूत दीपक उपाध्याय नेपालको सहभागिता थियो।
चैतन्य पाठशालाले सधैँ सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आएको र विद्यार्थीलाई केवल पाठ्यपुस्तक र परीक्षा केन्द्रित ज्ञान दिने मात्र होइन, समाजमा आवश्यक परेका बेला योगदान गर्न प्रेरित गर्दै आएकोमा आफूलाई खुसी लागेको गौरीगङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए।
उनले भने, ‘आन्दोलनको कारण हाम्रो नगरपालिकामा देखिएका क्षति तत्काल मर्मत र व्यवस्थापन गर्न कठिनाइ भइरहेको छ। यस्तो संवेदनशील समयमा चैतन्य पाठशालाले गरेको सहयोगले नगरपालिकालाई राहत मात्र दिएको छैन, यो समाजलाई जोड्ने एउटा सकारात्मक सन्देश पनि हो।’
नगर प्रमुखले विद्यालयप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अन्य संस्था र सङ्घ–संस्थाले पनि यसरी सहयोगका हात अघि बढाउने विश्वास व्यक्त गरे।
चैतन्य पाठशालाले यसअघि पनि विभिन्न विपद्, महामारी तथा सामाजिक अभियानहरूमा सहयोग गर्दै आएको छ। विद्यालय प्रशासनले अबको दिनमा पनि जहाँ आवश्यकता पर्छ, त्यहाँ योगदान गर्ने प्रतिबद्धता जनाएको छ।
जेन-जी आन्दोलनले देशभर अनेकौँ चुनौती र क्षति भएको भए पनि चैतन्य पाठशालाको यो कदमले समुदायलाई सहकार्य र सहअस्तित्वको सन्देश दिएको छ।
समाज र राष्ट्र निर्माणमा शैक्षिक संस्थाहरूको भूमिकालाई उजागर गर्ने यो उदाहरणीय कार्यले अन्य विद्यालय र संस्थाहरूसमेतलाई प्रेरित गर्ने विश्वास गरिएको छ।
चैतन्य पाठशाल जेन-जी आन्दाेलन


