काठमाडौं । सरकारमा थपिने चार जना मन्त्रीहरुको नाम टुंगो लागेको छ । उनीहरुको आजै शपथ ग्रहणको तयारी छ ।
नयाँ बन्ने मन्त्रीहरुमा डा. सुधा शर्मा गौतम, गणपति लाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता छन् । गौतमलाई स्वास्थ्य तथा जनसंख्या, श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, सुनारलाई श्रम तथा रोजगार र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
उनीहरु चारै जनाको नामावली प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति कार्यालयमा सिफारिस गरिसकेको स्रोतले बतायो ।
‘चार जना मन्त्रीको नाम सिफारिस भइसकेको छ । आजै शपथ ग्रहण हुन्छ,’ स्रोतले भन्यो । राष्ट्रपति कार्यालयले भने शपथ ग्रहणको समय केहीबेरमा सार्वजनिक गर्ने जनाएको छ ।
मन्त्री बन्न लागेकाहरु यी चार जना को हुन् ?
डा. सुधा शर्मा स्वास्थ्य मन्त्रालयको पूर्व सचिव हुन् । उनी स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन् । उनले ‘सिंहदरबारको घुम्ने मेच’ र ‘अप्रमेय’ पुस्तक समेत लेखेकी छन् ।
यसअघि सम्भावित स्वास्थ्य मन्त्रीको रुपमा स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिव संगीता कौशल मिश्राको नाम चर्चामा थियो । त्यसअनुसार उनले पदबाट राजीनामा समेत दिएकी थिइन् । तर उनीमाथि अख्तियार दुरुयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा अनुसन्धान गरिरहेको थाहा पाएपछि प्रधानमन्त्री सुशीला कार्की पछि हटेकी थिइन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यही कात्तिक २ गते मिश्राविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । यद्यपि प्रधानमन्त्री कार्कीले स्वास्थ्य मन्त्रीको जिम्मेवारी महिला पूर्वस्वास्थ्य सचिवलाई नै दिने निर्णय गरेकी छन् ।
यसैगरी गणपतिलाल श्रेष्ठ सम्पदा संरक्षण अभियन्ता हुन् । उनले रानीपोखरी, बसन्तपुर दरबार क्षेत्र लगायतका सम्पदा संरक्षणमा सह्रानीय भूमिका निर्वाह गरेका छन् । सम्पदा संरक्षण अभियानबारे गणपतिले विश्वचर्चित अक्सफोर्ड युनिभर्सिटीमा गएर समेत प्रस्तुति दिइसकेका छन् ।
खगेन्द्र सुनार दलित अधिकारकर्मी हुन् । संवैधानिक पद र राजनीतिक नियुक्तिमा दलित प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग गर्दै नेल लगाएर काठमाडौंमा प्रदर्शन गरेका थिए ।
खगेन्द्र दलित अधिकारको पक्षमा यसअघि पनि पटक–पटक धर्ना, प्रदर्शन र आन्दोलनमा सहभागी भएका छन् । ०७७ जेठ ११ गते रुकुम पश्चिममा जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या लगत्तै खगेन्द्रले जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको गेटमा भोकै सुतेर आन्दोलन गरेका थिए । उनले यो मुद्दाको सुनुवाइ चलिरहेका बेला जिल्ला अदालत रुकुमपश्चिमको गेटमा १० दिनसम्म धर्ना दिएका थिए ।
बब्लु गुप्ता सामाजिक कार्यक्रम सकृय छन् । उनले कोभिडकालमा निस्शुल्क खाना अभियान चलाएका थिए । कोभिड महामारी अघि बब्लुले विपन्न र आर्थिक अवस्था कमजोर भएका मानिसका लागि कपडा बैंक अभियान चलाएका थिए । उनी ‘हन्ड्रेड ग्रुप’ मार्फत विद्यार्थीहरुलाई पढाइरहेका उनी बिरामीका लागि आवश्यक रगत खोजिदिने सारथि समेत हुन् ।




