काठमाडौं । केही दिनयता काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन दबाब दिइरहेको भन्ने समाचारहरू सञ्चारमाध्यमहरूमा प्रसारित भएपछि प्रधानमन्त्री कार्यालयले ती समाचारहरू भ्रमपूर्ण भएको बताएको छ ।
प्रधानमन्त्रीको स्वकीय सचिवालयद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, ‘कसैलाई मन्त्री बनाउने वा हटाउने विषय प्रधानमन्त्रीको पूर्ण अधिकारक्षेत्रभित्र पर्ने संवैधानिक व्यवस्था हो । यस्तो निर्णय कसैको दबाब वा प्रभावमा आधारित भएर गर्न सकिँदैन र गरिने पनि छैन ।’
विज्ञप्तिमा जेन–जी आन्दोलनबाट व्यक्त जनादेशअनुसार गठन भएको सरकारले असामान्य परिस्थितिमा राष्ट्रको गम्भीर जिम्मेवारी वहन गर्दै अघि बढिरहेको उल्लेख गरिएको छ ।
गृहमन्त्री अर्यालले आगामी निर्वाचनका तयारी, शान्ति–सुरक्षा सुदृढीकरण र सुरक्षा निकायहरूको मनोबल उच्च राख्ने कार्यमा निरन्तर खटिरहेको जनाइएको छ ।
प्रधानमन्त्री कार्यालयले यस्ता अफवाहपूर्ण र भ्रामक समाचारहरू नफैलाउन र नपत्याउन सबै पक्ष र सञ्चारमाध्यमहरूलाई आग्रह गरेको छ ।





