
चितवन । अविरल वर्षाका कारण पृथ्वी राजमार्ग र नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोको जोखिम बढेकाे छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार वर्षा नरोकिएपछि सडकका विभिन्न भागमा थप पहिरो खस्ने सम्भावना रहेकोले यात्रामा जोखिम बढेको छ।
जाेखिमलाई मध्यनजर गर्दै चितवन जिल्ला प्रशासन कार्यालयले यात्रुहरूलाई अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह गरेको छ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा शुक्रबार जारी सूचनामा भनिएको छ, ‘नारायणगढ–मुग्लिन सडकको तुइनखोला क्षेत्र र पृथ्वी राजमार्गको मुग्लिनदेखि मलेखुबीच हिजो साँझदेखि लगातार स–साना पहिरो खसिरहेका छन् । अत्यावश्यक कारणबाहेक उक्त मार्गमा यात्रा नगर्न सबैलाई अनुरोध गरिन्छ ।’
सडकमा खसेका स–साना पहिरोलाई निरन्तर रूपमा सफा गर्दै बाटो खुलाउने काम भइरहेको छ। थप ठूला पहिरो खस्ने जोखिम कायमै रहेकोले यात्रा नगर्न प्रशासनले जनाएको छ।
प्रशासनले सडक प्रयोग गर्दा सतर्कता अपनाउन, मौसम सुधार नहुन्जेल यात्रा स्थगित गर्न र वैकल्पिक मार्ग अपनाउन सर्वसाधारण र सवारी चालकलाई आग्रहसमेत गरेको छ।
वर्षाको जाेखिम सडक यात्रा


