
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को भोलि हुने उद्घाटन खेलका लागि राखिएका सबै टिकटहरू बिक्री भइसकेका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो खेलका लागि टिकट उपलब्ध नभएका वा प्राप्त गर्न नसकेका दर्शकहरूलाई घरमै बसेर खेल हेर्न अनुरोध गरेको छ।
क्यानका सचिव पारस खड्का ले सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै टिकट नपाएका दर्शकहरूलाई रङ्गशालामा आएर हुलहुज्जत वा भीडभाड नगर्न आग्रह गरेका छन्। उनले दर्शकहरूले घरमै बसेर खेल हेर्दै एनपीएल क्रिकेटलाई सहयोग र समर्थन गर्नेमा आफू विश्वस्त रहेको बताए।
एनपीएल अब एउटा स्थापित (ब्राण्ड) बनिसकेको र यसले विश्वको ध्यान नेपाली क्रिकेटतर्फ तान्ने भएकाले दर्शक तथा समर्थकलाई अनुशासित भएर खेल हेर्न क्यानले विशेष अनुरोध गरेको छ। सचिव खड्काले भविष्यमा विश्वस्तरका धेरै खेलाडीहरूलाई नेपालमा ल्याएर खेलाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि सकारात्मक सन्देश दिन आवश्यक रहेको उल्लेख गरेका छन्।
हाल त्रिवि क्रिकेट रङ्गशालामा सिट संख्या सीमित भएकाले क्यानले उद्घाटन खेलका लागि करिब आठ हजार टिकट बिक्रीका लागि खुल्ला गरेको थियो। यसबाहेक, करिब दुई हजार टिकट खेलाडीका परिवार, प्रायोजक तथा आयोजकलगायतका लागि छुट्याइएको छ। यस्तै, थप तीन हजार सिट पदाधिकारी, खेलसँग सम्बन्धित अधिकारी र पाहुनाका लागि आरक्षित गरिएको छ।
यसअघि, क्यानले पत्रकार सम्मेलन गरी एनपीएल चलिरहेको समयमा कुनै पनि समूहलाई काठमाडौं केन्द्रित आन्दोलनका कार्यक्रमहरू नगर्न समेत आग्रह गरेको थियो।
सोमबारदेखि त्रिवि क्रिकेट रङ्गशालामा सुरु हुने एनपीएलको दोस्रो संस्करणका लागि सबै तयारी पूरा भएको छ। प्रतियोगितामा आठ टोली बीच प्रतिस्पर्धा हुनेछ। उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ड्स र काठमाडौं गोर्खाज बीच प्रतिस्पर्धा हुनेछ।
खेल दिउँसो ४ बजे सुरु हुनेछ।
एनपीएल


