
सिमरा । नेकपा एमालेले आज बाराको परवानीपुरमा आयोजना गरेको मधेश प्रदेशस्तरीय युवा भेलामा महेश बस्नेतलगायतका नेता उपस्थित हुने भएपछि तनाव उत्पन्न भयो।
भेलामा सहभागी हुन काठमाडौंबाट एमाले उपाध्यक्ष शंकर पोखरेल, पोलिट्ब्युरो सदस्य बस्नेतलगायतका नेता सिमरा आउने भएपछि जेनजी युवाहरुले त्यसको विरोध जनाए।
आज बिहानै बाराको मुख्य बजार क्षेत्रमा एमाले कार्यकर्ताले जेनजी अगुवा सम्राट उपाध्ययमाथि कुटपिट गरेपछि सुरु भएको झडप विमानस्थल क्षेत्रसम्मै पुग्यो।
अवस्था जटिल बनेपछि स्थानीय प्रशासनले साढे १२ बजेदेखि कर्फ्यु आदेश जारी गर्यो। तर स्थानीय युवाहरुले प्रदर्शन भने कायम राखेका छन्।
सिमराको मुख्य बजारमा उपस्थित भएका युवाहरुको ठूलो संख्याले नारावाजी र प्रदर्शन गरिरहेका छन्।
बस्नेतले विभिन्न वक्तव्यमार्फत जेनजी युवाहरुलाई लक्षित गर्दै दिएको अभिव्यक्तिले आक्रोसित बनेका युवाहरु उनलाई सिमराको राजनीतिक सभामा उपस्थित हुनबाट रोक्न उत्रिएका हुन्।
जेनजी युवा र एमाले कार्यकर्ताबीच भएको झडपछि उत्पन्न तनावपछि विभिन्न प्रतिक्रिया आइरहेका छन्।
संविधानविद् डा भीमार्जुन आचार्यले नेताहरुलाई जनतामाझ जानबाट नरोक्न अपिल गर्दै यसखाले घटनाले निर्वाचन हुनेमा आशंका व्यक्त गरेका छन्।
उनले सत्तामा रहेका आन्दोलनकारीले अरुभन्दा जिम्मेवार भएर कदम चाल्न पनि आक्रह गरेका छन्।
यद्यपि विगतमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन माओवादीसँग पार्टी एकता गरेर नेकपाको नेतृत्वको हैसियतमा सत्ता सम्हाल्दा राजधानीमा पटकपटक जुलुस, सभा र विशाल मोटरसाइकल विरोध र्याली निकालेका थिए।
यस्तै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पनि निषेधको राजनीति नगर्न जेनजी युवाहरुलाई अपिल गरेका छन्।
उनले सिमरा घटना जेनजी पुस्ताको भावना नभएर दुरुपयोग भएको पनि दावी गरेका छन्।
कांग्रेस नेता डा चन्द्र भण्डारीले सिमरा घटना कास्टिङ मात्र भएको प्रतिक्रिया दिएका छन्। उनले चुनाव चुनाव भनेर बुरुक बुरुक उफ्रेर देशमा भएको कहाली लाग्दो घटनामा नघोइने आसय व्यक्त गरेका छन्।
उनले भदौ २३ र २४ को घटनातिर इंगित गर्दै सो घटना चुनाव गराएर खुरुक्क सत्ता हस्तान्तरणका लागि मात्रै नभएकोतर्फ सचेत रहन शन्देस दिएका छन्।
जेनजी प्रदर्शन सिमरा


