Logo
१२ मंसीर २०८२, शुक्रबार

एनपिएल : काठमाडौंको तेस्रो जित, चितवनको फराकिलो हार

अक्षरपाटी
२०८२ मंसीर १२ , शुक्रबार ०३:११ मा प्रकाशित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौं गोर्खाजले तेस्रो जित निकालेको छ । तेस्रो जित दर्ता गर्नेक्रममा उसले शुक्रबार सम्पन्न खेलमा चितवन राइनोजलाई ५३ रनले हरायो ।

काठमाडौंले पाँच म्याच खेल्दा दुई खेलमा भने हारको सामना गरेको छ ।

यता चितवनले दोस्रो हारको सामना गर्‍यो । शुक्रबारको खेलमा काठमाडौंले दिएको १ सय ४३ रनको लक्ष्य पछ्याएको चितवन १७.२ ओभरमा ८९ रनमै अलआउट भयो ।

उसका लागि रवि बोपारा र देव खनालले २१-२१ तथा सोहेल तनवीरले १८ रन बनाए । बाँकी ब्याटर प्रदर्शन सम्झनलायक रहन सकेन ।

काठमाडौंका लागि रशिद खानले तीन तथा कप्तान करण केसी, मिलिन्द कुमार, शाहब आलमले दुईरदुई र सन्तोष यादवले एक विकेट हात पारे ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको काठमाण्डु १९.४ ओभरमा १ सय ४२ रनमा अलआउट भयो ।

उसका लागि जोन सिम्पसनले अर्धशतकीय पारी खेले । २९ बलको सामना गरेका उनले तीन चौका र पाँच छक्काको मद्दतमा ६० रनको पारी खेलेका हुन् ।

त्यस्तै, मिलिन्द कुमारले ३८ र बेन चार्ल्सवर्थले १३ ले रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

चितवनका लागि सोहेल तनवीरले उत्कृष्ट बलिङ गरे । उनले चार ओभरमा २५ रन खर्चिएर महत्वपूर्ण चार विकेट लिए ।

त्यस्तै, रन्जित कुमार र कमल ऐरीले दुईरदुई तथा रवि बोपाराले एक विकेट लिए ।

यो जितपछि काठमाडौं अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। अब काठमाडौं र विराटनगरको समान ६ अंक भएको छ ।

यो हारपछि चितवन तालिकाको चौथो स्थानमा झरेको छ ।

एनपिएल