Logo
१ जेठ २०८३, शुक्रबार

भेनेजुएलाको तेल बोकेको रूसी पानीजहाज अमेरिकाद्वारा नियन्त्रणमा, रूस र चीनको कडा निन्दा

अक्षरपाटी
२०८२ पुस २४ , बिहीबार ०८:०१ मा प्रकाशित

अमेरिकाले भेनेजुएलाको तेल बोकेका थप दुईवटा पानीजहाज नियन्त्रणमा लिएको छ। तीमध्ये एउटा रूसी ध्वजावाहक र अर्को पनामाको ध्वजावाहक रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

अमेरिकाले भेनेजुएलामा सैन्य हस्तक्षेप गरी राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमतीलाई पक्राउ गरेपछि तेल ढुवानीमाथि कडा निगरानी र नियन्त्रण बढाएको हो। मदुरो पक्राउअघि पनि अमेरिकाले क्यारेबियन क्षेत्रमा भेनेजुएलाको तेल बोकेको दुईवटा पानीजहाज नियन्त्रणमा लिएको थियो।

यसपटक नियन्त्रणमा लिइएको ‘मारिनेरा’ नामक पानीजहाजले कच्चा तेल बोकेको थियो। अमेरिकी अधिकारीहरूका अनुसार हप्तौँसम्मको खोजीपछि बुधबार बिहान अमेरिकी कोस्ट गार्ड र विशेष सैन्य बलले उक्त जहाज नियन्त्रणमा लिएका हुन्। सो जहाजले अघिल्लो महिना निरीक्षण अस्वीकार गरेपछि आफ्नो झन्डा परिवर्तन गरी रूसी झन्डा प्रयोग गर्न थालेको दाबी गरिएको छ।

उक्त कारबाहीमा बेलायतको रोयल एयर फोर्स र एक सैन्य जहाजले पनि सहयोग गरेको बेलायती रक्षा सचिव जोन हिलीले बताएका छन्। कारबाहीका क्रममा रुसी पनडुब्बी र अन्य जहाजहरू नजिकै रहेको उल्लेख गर्दै यसले रूस–अमेरिका तनाव अझ चर्किन सक्ने संकेत गरिएको छ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले उक्त पानीजहाजले ‘नक्कली रूपमा रूसी पहिचान प्रयोग गरी अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्न खोजेको’ आरोप लगाएका छन्। त्यस्तै, बुधबार नै अमेरिकी कोस्ट गार्डले भेनेजुएलाको तेल बोकेको पनामाको ध्वजावाहक ‘एम सोफिया’ ट्यांकर पनि दक्षिण अमेरिकाको उत्तरपूर्वी तट नजिक नियन्त्रणमा लिएको छ। पछिल्ला केही हप्तामा यो चौथो नियन्त्रण कारबाही हो।

ह्वाइट हाउसका अनुसार यी ट्यांकरहरू भेनेजुएला र इरानबाट प्रतिबन्धित तेल ढुवानी गर्न प्रयोग गरिएको आशंका गरिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकासहित सम्पूर्ण अमेरिकन महादेशमा तेल आपूर्तिमा नियन्त्रण कायम गर्ने र भेनेजुएलाको समाजवादी सरकारलाई अमेरिकी हितअनुकूल बनाउने नीति अन्तर्गत यो कदम चालिएको जनाएको छ।

यस घटनाप्रति रूस र चीनले कडा प्रतिक्रिया जनाएका छन्। मस्कोको यातायात मन्त्रालयले अमेरिकी कदमको निन्दा गर्दै रुसी नागरिकहरूलाई सम्मानजनक व्यवहार गर्न र चाँडै स्वदेश फर्कन अनुमति दिन माग गरेको छ। मन्त्रालयले उक्त जहाजलाई अस्थायी रूपमा रूसी झन्डा प्रयोग गर्न अनुमति दिएको दाबी गर्दै कुनै पनि देशलाई अन्य राज्यको कानुनी रूपमा दर्ता भएका जहाजमाथि बल प्रयोग गर्ने अधिकार नभएको बताएको छ।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले भेनेजुएलामाथि बल प्रयोग गर्दै ‘अमेरिका फर्स्ट’ नीति थोपर्ने कार्यलाई ‘धम्की र दबाबको राजनीति’को संज्ञा दिएकी छन्। चीन भेनेजुएलाको तेलको प्रमुख आयातकर्ता मुलुकमध्ये एक हो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अमेरिकाको यस कदमले विश्वका शक्ति राष्ट्रहरूबीच थप तनावको वातावरण सिर्जना गरेको छ। यसैबीच, राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत भेनेजुएलासँगको तेल सम्झौताबाट प्राप्त रकम अमेरिकी कृषि उत्पादन र औषधि खरिदमा प्रयोग गरिने बताएका छन्।

ट्रेन्डिङ ( साप्ताहिक )