



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरका आधारमा विशेष महाधिवेशन आह्वान गरेपछि पार्टीभित्र त्यसको समर्थन बढ्दै गएको छ। विभिन्न जिल्लाका कांग्रेस जिल्ला कार्यसमितिहरूले विशेष महाधिवेशनको स्वागत गर्दै औपचारिक विज्ञप्ति जारी गरी सहभागिताका लागि अपिल गर्न थालेका छन्।
अहिलेसम्म कांग्रेस ललितपुरका सभापति जितेन्द्रकुमार श्रेष्ठ, कास्कीका सभापति किशोरदत्त बराल, सिन्धुपाल्चोकका सभापति जंगबहादुर लामा, उदयपुरका सभापति हिमाल कार्की लगायतका जिल्ला सभापतिहरूले विशेष महाधिवेशनको समर्थनमा विज्ञप्ति जारी गरेका छन्।
नेताहरूका अनुसार हालसम्म ३० भन्दा बढी जिल्ला सभापतिहरू विशेष महाधिवेशनको पक्षमा खुलेका छन्। यसले पार्टीभित्र विशेष महाधिवेशनको पक्षमा बलियो मत निर्माण हुँदै गएको संकेत गरेको छ।
विशेष महाधिवेशन आगामी पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने तय भएको छ। तर पार्टी सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षका अधिकांश नेताहरूले भने विशेष महाधिवेशनको औचित्यमाथि प्रश्न उठाउँदै आएका छन्।
यसैबीच, नेता शेखर कोइरालाले विशेष महाधिवेशनलाई संकल्प महाधिवेशनमा रूपान्तरण गर्न सभापति देउवासँग आग्रह गरेका छन्।
विशेष महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरू काठमाडौं आउने क्रम समेत सुरु भइसकेको छ।
उल्लेखनीय छ, कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले गत असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाउँदै विशेष महाधिवेशनको माग गरेका थिए। तर त्यसअनुसार हस्ताक्षर सनाखतलगायतका प्रक्रिया अघि नबढाइएकाले विधानअनुसार बाध्यकारी अवस्था सिर्जना भएको महामन्त्रीद्वयको दाबी छ।
पार्टी विधानअनुसार कम्तीमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ। सभापति र केन्द्रीय कार्यसमितिले समयमै आह्वान नगरेपछि महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशन आह्वान गर्न बाध्य भएको बताएका छन्।
नेपाली कांग्रेस



