

काठमाडौं । नेपाली कांग्रेसमा आन्तरिक विवाद समाधान गरी पार्टी एकतामै निर्वाचनमा जाने वातावरण बनाउने प्रयास तीव्र रूपमा भइरहेको छ।
विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले नेतृत्व गरेको कार्यसमितिलाई माघ २ गते निर्वाचन आयोगले मान्यता दिएपछि सर्वोच्च अदालत पुगेको शेरबहादुर देउवा पक्ष पनि संवादमा उत्रिएको छ।
आइतबार राति सभापति थापा र देउवा समूहका नेता रमेश लेखकबीच औपचारिक नभए पनि महत्त्वपूर्ण संवाद भएको छ। थापा समूहका नेताहरू रमेश धमला, सुवास पोखरेल र गेजशर्मा वाग्लेले पार्टी एकता कायम राख्न लगातार अनौपचारिक संवाद गरिरहेका छन्।
देउवा पक्षबाट नेता पूर्णबहादुर खड्का, रमेश लेखक, मीन विश्वकर्मा र नैनसिंह महर नियमित संवादमा सहभागी छन्। शेखर कोइराला समूहका मिनेन्द्र रिजाल, गोविन्द पोखरेल र सुनिल शर्मा पनि संवाद प्रक्रियामा छन्।
संवादमा सहभागी एक नेताले भने, “कुरा सहमतिनजिक छ। आज सबै विषय टुंग्याउने कुरा छ। मिलेर जाने निर्णय भएको छ।”
सभापति थापासँग सहमति हुने संकेत देखिएपछि देउवा र कोइराला पक्ष महाराजगन्जमा भेला भएका छन्। देउवा निवास महाराजगन्जमा सामूहिक छलफल गरी फेरि थापा, उपसभापति शर्मा र अन्य नेतासँग संवादमा बस्ने रणनीति तयार भएको छ।
कोइराला समूह सुरुदेखि निर्वाचन पक्षमा उभिएको थियो भने आइतबारको संवादपछि देउवा पक्ष पनि सकारात्मक देखिएको छ।
सभापति थापाले पार्टीभित्रको विवाद मिलाउन संवाद जारी रहेको बताएका छन्। सोमबार बिहान सामाजिक सञ्जालमार्फत उनले भने, ‘पार्टीमा सबैलाई मिलाएर जाने प्रयास भइरहेको छ। यसकारण टिकट वितरणमा केही ढिलाइ भएको छ। आजै सबै विषय टुंग्याउने छौँ। सबै नेता र कार्यकर्तालाई उम्मेदवारका पक्षमा उभिन आग्रह गर्दछु।’
यस प्रकार, नेपाली कांग्रेसमा आन्तरिक एकता कायम गर्दै निर्वाचनमा मिलेर जाने संकेत थप बलियो हुँदै गएको छ।
नेपाली कांग्रेस



