

चरीकोट। नेपाली कांग्रेस दोलखाका प्रतिनिधिसभा सदस्यका उम्मेदवार अजयबाबु शिवाकोटीले सोमबारदेखि आफ्नो चुनावी घरदैलो कार्यक्रम सुरू गरेका छन्।
उनले सोमबार बिहान भीमेश्वर नगरपालिकास्थित महाकाल मन्दिरको दर्शन गरी आफ्नो अभियानको औपचारिक थालनी गरेका हुन्।
शिवाकोटीले भीमेश्वर नगरपालिका ५ बाट मतदाता भेटघाटको कार्यतालिका अघि बढाएका छन् । उनले पहिलो दिन सोही वडाका किरणछाया, बोक्सिला र विष्णुटोलमा पुगेर स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गरेका छन्।
आफ्नो गाउँठाउँको उम्मेदवारका रूपमा अजयबाबुलाई पाउँदा स्थानीय बासिन्दाले खुशी व्यक्त गरेका छन् । घरदैलोका क्रममा मतदाताले उनलाई स्वागत गर्दै स्थानीय समस्या र विकासका अपेक्षाका बारेमा सुनाएका थिए।
शिवाकोटीले पनि आफू जनताको प्रतिनिधि भएर दोलखाको मुहार फेर्न चुनावी मैदानमा आएको बताए। उनले विजयी भएपछि सधैँ जनताकै साथमा रहने प्रतिबद्धता जनाएका छन् ।
भ्रष्टाचार विरोधी अभियान र पत्रकारिताको पृष्ठभूमिबाट आएका शिवाकोटीप्रति युवा पुस्ताको विशेष आकर्षण देखिएको छ। उनले आफ्नो घरदैलो अभियानलाई अझ तीव्र बनाउने र दोलखाको समग्र आर्थिक तथा सामाजिक विकासका एजेन्डाहरू जनतामाझ लैजाने बताएका छन् ।
अजयबाबु शिवाकोटी




