Logo
७ वैशाख २०८३, सोमबार

आनन्दको उद्घाेष : सुख र शक्तिका लागि होइन, जनताको सारथि बन्न आएको हुँ

अक्षरपाटी
२०८२ माघ २४ , शनिबार १२:०२ मा प्रकाशित

कैलाली । नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार गोरखबहादुर बिष्ट ‘आनन्द’ शनिबार गौरीगंगा नगरपालिकामा रहेको माेहन्याल मन्दिर र कैलाशपुरस्थित महदयाल थानमा पुगेर आजको चुनावी अभियान सुरु गरे।

थानहरुको दर्शन गर्दै ‘आनन्द’ले मोहन्यालका पुजारी ताेयानाथ जाेशी र त्यस क्षेत्रकै गुरुवा (वैद्य) टोपबहादुर जोगीसँग आशिर्वाद लिए र भलाकुशारी गरे।

उम्मेदवार गोरखबहादुर बिष्ट ‘आनन्द’ले जनताको घरघर पुग्ने अभियानलाई तीव्रता दिएसँगै उनी हरेक वडा र टाेल टेक्ने अभियान सुरु गरेका हुन्।

उनको चुनावी अभियानमा समानुपातिक तर्फका उम्मेदवार यज्ञनीधि कोइराला, तरुण दल, नेविसंघका नेता, महिला संघका नेता कार्यकर्ता, स्थानीय पालिकाका निर्वाचित कांग्रेस प्रतिनिधि, अगुवा नेता दीनेश जाेशी, प्रकाश बम, शेरबहादुर देउवा, पहल चन्द, चुनाबी मैदानमा एक ढिक्का भएर लागेका छन्।

आज मात्रै उनले कैलालीको गौरीगंगा नगरपालिका ४ राजीपुरमा आफ्नो सम्पर्क कार्यालय मात्र उद्घाटन गरेनन्, शान्त र शालीन शैलीमा जनताका कुरा सुने सुझावहरू सङ्कलन गरे।

राजीपुरमा उनले भने- ‘म पद, शक्तिका लागि होइन, तपाइँहरुका आवाज लिएर संसदमा उभिन आएको हुँ, तपाइँका दुःखको सारथि बन्न आएको हुँ।’

गौरीगंगा नगरपालिका ४ विपद्का होस या। चुरे ४ बालुवागडाको भेटघाटमा उनको बोली उस्तै थियो।

नेपाली काँग्रेसको तर्फबाट कैलाली क्षेत्र नम्बर ४ को उम्मेदवार बनेका युवा नेता बिष्टले भने, ‘पद, प्रतिष्ठा वा सुख र शक्ति चाहिएर म तपाइँहरुमाझ आएको होइन।’

आफू आफ्ना क्षेत्रका जनताकाे पीरमर्का, दुःख सुख, चुनौति र अवसर के हुन सुन्न आएको उनी बताउँदै आएका छन्। आफ्ना क्षेत्रका जनताकाे समस्या र सम्भावना बनेर सदनमा बुलन्द आवाज बन्न आएको उनकाे भनाइ छ।

आफ्नाे अमेरिका बसाइप्रति इंगित गर्दै उनले भने- ‘केहीले मलाई टुरिस्ट भने, त्यो सोचको कुरा हो, अहिलेको बदलिँदो युगमा संसार देखेकै मान्छे नेतृत्वमा चाहिन्छ। उसँग भिजन हुन्छ।’

उनले थपे, ‘कोही पढ्न, कोही कमाउन, थोरै रहर त धेरै बाध्यताले विदेश पुगेका छन्, म पनि पुगेँ, तर विदेशमा रहेका तिनै दाजुभाइ, दिदीबहिनीलाई स्वदेश फर्कनलायक देश बनाउने र विदेशीलाई मेराे क्षेत्रमा आएर फोटाे खिच्ने स्तरको बनाउन म चुनावी मैदानमा उत्रिएको हुँ।’

आफू यहाँका जनताका पीडा, समस्या, सम्भावना र योजना सुन्न मात्र होइन आवाज बनेर संसदमा प्रस्तुत हुन आएको पनि स्पस्ट पारे।

‘म यहाँका कृषि, पर्यटन, जडिबुटी, पशुपालनदेखि विकास निर्माणका योजनालाई मुर्त रुप दिन आएको हुँ,’ उनले भने।

जन्म घर डोटी भए पनि पारिवारिक बसाइ क्षेत्र नम्बर ४ मै रहेका बिष्टले विदेशिनु आम नेपालीको नियति भएको बताए।

उनले भने, ‘म आवाज मात्र बनेर संसदमा उपस्थित हुने छैन, यहाँहरुका दुःख, अभाव, सम्भावना र परिवर्तनको परिणाम बनेर निस्कने अठोट पनि व्यक्त गर्छु।’

उनले लोकतन्त्र स्थापनापछिको लामो समयसम्म पनि सामान्य आधारभूत आवश्यकताबाट बञ्चित हुनुपर्ने दूरदराजका समस्या समाधानको आवाज बनेर आफू संसदमा प्रस्तुत हुने प्रतिबद्धता स्थानीय सामू व्यक्त गरे।

आनन्द बिष्ट गाैरीगंगा नगरपालिका