Logo
७ वैशाख २०८३, सोमबार

३५ वर्षपछि बंगलादेशले पुरुष प्रधानमन्त्री पाउँदै

अक्षरपाटी
२०८२ फागुन १ , शुक्रबार १०:०२ मा प्रकाशित

बंगलादेश । झण्डै ३५ वर्षपछि बंगलादेशले पुरुष प्रधानमन्त्री पाउने सम्भावना देखिएको छ। बिहीबार सम्पन्न आम निर्वाचनमा बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) ले स्पष्ट बहुमत हासिल गरेसँगै पार्टी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चितजस्तै देखिएको छ।

३०० सिटमध्ये २९९ सिटमा भएको मतदानमा बीएनपीले २०९ सिट जितेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। शेरपुर–३ क्षेत्रमा एक उम्मेदवारको मृत्यु भएपछि त्यहाँको निर्वाचन स्थगित गरिएको थियो।

१७ वर्ष लामो लन्डन निर्वासनपछि सक्रिय राजनीतिमा फर्किएका तारिक रहमानले यस निर्वाचनमा बीएनपीको नेतृत्व गरेका थिए। उनी पूर्वप्रधानमन्त्री खालिदा जिया का छोरा हुन्। चुनावी परिणामसँगै उनलाई बंगलादेशको नयाँ प्रधानमन्त्रीका रूपमा हेरिन थालेको छ।

यसपटक अवामी लिग निर्वाचनमा सहभागी नभएकाले बीएनपीलाई प्रत्यक्ष फाइदा पुगेको बीबीसी हिन्दीले उल्लेख गरेको छ। यससँगै तारिक रहमान ३५ वर्षपछि बंगलादेशको पहिलो पुरुष प्रधानमन्त्री बन्ने सम्भावना बलियो बनेको छ।

यसअघि सन् १९८८ मा काजी जफर अहमद प्रधानमन्त्री बनेका थिए। त्यसपछि १९९१ देखि २०२४ सम्म बंगलादेशमा शेख हसिना र खालिदा जिया आलोपालो प्रधानमन्त्री रहँदै आएका थिए।

सन् २०२४ मा भएको विद्यार्थी आन्दोलनका कारण शेख हसिना निर्वासनमा जानुपरेको थियो भने खालिदा जियाको निधनपछि मुहम्मद युनुस को नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको थियो। सोही सरकारले हालको संसदीय निर्वाचन गराएको हो।

यता विद्यार्थी आन्दोलनबाट जन्मिएको पार्टी राष्ट्रिय नागरिक पार्टी (एनसिपी) ले भने ६ सिटमा मात्रै चित्त बुझाउनु परेको छ। एनसिपी नेता नाहिद इस्लाम ढाका–११ क्षेत्रमा अग्रता लिइरहेका छन् भने अन्य केही स्थानमा मात्रै एनसिपीका उम्मेदवारको जित पक्का भएको बताइएको छ।

निर्वाचनअघि एनसिपी नेतृत्वले गठबन्धन सरकार बनाउने दाबी गरे पनि नतिजा भने त्यसअनुसार नआउने देखिएको छ। ३०० सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि कम्तीमा १५१ सिट आवश्यक पर्छ।

बंगलादेश