Logo
८ वैशाख २०८३, मंगलबार

स्वाधीनताको राजनीति बहसलाई बुलन्द बनाउँदै साम्पाङ

अक्षरपाटी
२०८२ फागुन २ , शनिबार ०६:०२ मा प्रकाशित

सुनसरी। देशभरजस्तै सुनसरी–१ मा पनि चुनावी माहोल गर्माएको छ। झन्डा, पोस्टर, सभा, जुलुस र घरदैलो अभियानकाबीच एउटा फरक आवाज बुलन्द बन्दै गएको सुनिन्छ- त्याे हो-‘देशको स्वाधीनता नेताकाे जित र विकासभन्दा माथि हाे।’

यस क्षेत्रबाट श्रम सँस्कृति पार्टीकातर्फबाट उम्मेदवार मात्र होइन श्रम सँस्कृति पार्टीका अध्यक्ष समेत रहेका हर्क साम्पाङ यो आवाजलाई देशव्यापी बनाउन पार्टी नै स्थापना गरेर हरेक निर्वाचनमा होमिएका हुन्।

अध्यक्ष साम्पाङले आफ्नो मान्यतालाई चुनावी एजेन्डामा रुपमान्तरण गर्नै ‘श्रम, स्वाधीनता र सांस्कृतिक पुनर्जागरण’लाई पार्टीको अभियानकै रुपमा अघि सारेका छन्।

करिब देशभर पार्टीले समानुपातिक र प्रत्यक्षतर्फ उम्मेदवारी दिएको उल्लेख गर्दै उनले यसपटक वैकल्पिक तर स्वाधीन राजनीतिक धार निर्माण गर्ने दाबी गरेका छन्।

उनले विकासभन्दा स्वाधीनता ठूलो विषय भएको तर्क गर्दै भने, ‘देशको स्वाधीनता भन्दा माथि विकास हुन सक्दैन। विदेशीको इसारामा गरिने विकासभन्दा खस्रो, फुस्राे नेपाली हुनु बेस हाे । देशै नरहे कहाँ राजनीति गर्ने?’

उनका अनुसार राष्ट्रियता केवल चर्का भाषण र नारामा सीमित नभई श्रम, उत्पादन र माटोसँगको सम्बन्धबाट स्थापित हुन्छ।

‘माटो नछोएसम्म राष्ट्रियता महसुस हुँदैन, श्रम नगरी देश विकास हुँदैन, पसिना नबगाएसम्प उत्पादन हुँदन, उत्पादन नभएसम्म आत्मनिर्भर भइँदैन। आत्मनिर्भर नहुनु भनेको पराधिन हुनु हाे’, उनले स्वाधिनताबारे स्पस्ट पारे।

धरान उपमहानगरपालिकाको मेयर हुने बित्तिकै उनले बर्षाैँदेखि यहाँका जनताले भोग्दै आएको खानेपानीको अभावलाई श्रमदानबाटै ९० दिनमै सम्भव बनाएका थिए।

राज्यको बजेट बिनै उनले धरानमा कैयाैँ विकास निर्माणका काम मात्र गरेनन्, श्रमदानबाटै उनले लाेभलाग्दाे श्रम सँस्कृति पार्क निर्माण गरेका थिए।

धरानको नेतृत्व सम्हालेपछि सुरु गरिएको लागुऔषध दुर्व्यसनविरुद्धको सचेतना अभियानलाई मात्र उनले प्राथमिकताका साथ अघि बढाएनन्, वृक्षाराेपण, नगर सरसफाइ, प्रकृति सँरक्षणको अभियानलाई जागरणकै रुपमा राजधानी काठमाडाैँसम्म पुर्याएका थिए।

भाषणभन्दा व्यवहारिक अभियन्ताका रुपमा स्थापित नेता साम्पाङ समाज रूपान्तरण श्रम, सँस्कृति र प्रकृतिबाटै सम्भव हुने दाबी गर्छन।

उनी जनताले नजितेकै कारण हाम्राे मुलुक कमजाेर बन्दै गएकाे बताउँदै भन्छन्- ‘पहिला जनता जित्नुपर्छ। जनता हार्ने, नेता जित्ने अवस्था जहिलेसम्म रहन्छ तबसम्म देश उन्नतिको बाटोमा कहिल्यै अघि बढ्दैन।’

उनले विकासलाई केवल पूर्वाधार निर्माणसँग मात्र जोडेर हेर्न नहुने तर्क गर्दै भने, ‘विकास भनेको जनताका लागि हुनुपर्छ। नेताका लागि हाेइन, आजसम्मका विकास नेताका लागि भए। उनीहरुका आसेपासेका लागि गरिए।’

प्रकृति, संस्कृति र प्रविधिको सन्तुलित सम्लिनबिना दिगो विकास सम्भव नहुने उनको तर्क छ।

‘भाषणले देश बन्दैन। भाषणले देश बन्ने भए यतिका वर्ष जनता राेयर बस्नुपर्ने थिएन। हामीले भाषण गर्ने मात्रै शिक्षा सिकायौँ, देश बनाउने सीप सिकाएनौँ,’ उनले टिप्पणी गरे।

सुनसरी–१ मा यसपटकको चुनावमा परम्परागत दल र नयाँ शक्तिबीच प्रतिस्पर्धा चर्किँदै गएको छ।

श्रम सँस्कृति पार्टीका अध्यक्ष साम्पाङले भने आफ्नो उम्मेदवारी स्वाधीनताकाे अभियानका श्रम सँस्कृतिको सँस्कार स्थापनाबाट देश निर्माणको अठाेटका रुपमा अर्थ्याउँदै आएका छन्।

निर्वाचन श्रम सँस्कृति पार्टी हर्क साम्पाङ