Logo
७ फागुन २०८२, बिहीबार

म नेता होइन, सेवक बन्न आएको हुँ : ‘आनन्द’

अक्षरपाटी
२०८२ फागुन ४ , सोमबार ०६:०२ मा प्रकाशित

कैलाली । ‘मलाई नेता होइन, सेवक बन्नु छ’ कैलाली क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका गाेरखबहादुर बिष्ट चुनावी अभियानमा जनतामाझ जानु पहिलाको वाचा थियो।

‘त्यो मेरो जनताप्रतिको जिम्मेवारी, इमानदारी र प्रतिबद्धताको घोषणा हो’, अक्षरपाटीसँग कुरा गर्दै बिष्टले भने।

उनी अहिले यही सन्देश बोकेर कैलाली क्षेत्र नम्बर ४ का जनताको टोल–टोलमा पुग्ने अभियानमा सक्रिय छन्। टाेल टाेलमा किन त ? समयको पावबन्दी छ। हरेक घरका जनतालाई त्यही टाेल भेलामा निमन्त्रणा गर्ने प्रयास गरेको छु।

उनले भने, ‘जनताको मतको मूल्य हुँदैन, त्यही अमूल्य मतले म निर्वाचनमा विजयी हुनेछु। त्यस्तो अमूल्य मतदान गर्ने हरेक जनतालाई भेट्ने रहर त थिएन र !’ भावुक देखिँदै उनले प्रष्ट्याए ‘एकदमै छाेटाे समय भइदियो।’

उम्मेदवार विष्टले आफ्नाे क्षेत्रको तराई भू-भागमा पर्ने गौरीगंगा र गोदावरी नगरपालिकाका विभिन्न टोलमा अभियान सम्पन्न गरिसकेका छन्। त्यसपछि उनी विकट पहाडी क्षेत्रको अभियानमा निस्केका हुन्।

गोदावरी नगरपालिका–४, हाटखोली पुगेका उनलाई त्यहाँ आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा स्थानीय जनताले उनलाई अधुरो सडक, सिँचाइ सुविधा र नियमित विद्युत् आपूर्तिको दु:ख बिसाए। उनले डायरीमा टिपे।

लामो समयदेखि पूर्वाधार विकासमा पछि परेको यो क्षेत्र गाेदावरी नगरपालिकामा परेपनि नगरको ध्यान नपुगेको गुनासाे उनीहरुले गरे। स्थानीयले यी समस्याको दीर्घकालीन समाधानको अपेक्षा बिष्टसँग व्यक्त गरे।

विष्टले जवाफमा आफू ‘राजनीति पद, शक्ति र सुविधाका लागि नभई जनताकै दुःख–सुखमा साथ दिन आएको’ बताए। उनले यी सबै समस्यालाई आफ्नै ठानेर समाधान खोज्ने वचनवद्धता व्यक्त गरे।

‘म जनतामाथि शासन गर्न आएको होइन, तपाइँहरुसँगै हिँड्न, तपाईँहरुका कुरा सुन्न र काम गर्नका लागि आएको हुँ,’ उनले भने, ‘त्यसैले म भाषणमा होइन, काममा विश्वास गर्छु, आश्वासन होइन, परिणाममा भरोसा गर्छु। तपाईँहरु भोलि नपछुताउने काम गरेर देखाउनेछु।’

बिष्टले देश विसम परिस्थितमा भएकाले आज देशलाई ठूला कुरा गर्ने नेता होइन, जनताको दैलाे–दैलाेमा पुगेर, खेत–बासीमा टेकेर, बस्ती र बजारका समस्या टिपेर काम गर्ने सेवक चाहिएको आफूले बुझेकाे बताए।

उनले भने, ‘जनताको मत र भावनालाई कदर नगरेकै कारण भदाै २३ को असन्तुष्टि हो। तर त्यसमा गलत तत्वको घुसपैठले भदाै २४ निम्तिन गयो। म तपाईँहरुको माग सम्बाेधन गर्नुलाई आफ्नाे जिम्मेवारी ठान्छु।’

विष्टले जनताले अवसर दिएर पठाएमा आफूले त्यसलाई आफ्नो हैसियत उँचाे बनाउने साधन नबनाएर जनताको जीवनस्तर उठाउने र सहज बनाउने अवसरका रूपमा प्रयाेग गर्ने प्रतिबद्धता पनि जनाए।

निर्वाचनको परिणाम जेसुकै भए पनि आफू सधैं जनतासँगै, जनताकै माझमा रहने र राजनीतिमार्फत समाजसेवा गरिरहने बताउँदै भने,’हिँजाे पनि मैले सकेको सेवा गरेकै हो, अब त झन मैले जनताले परिणाम ने दिए पनि मेरा हरेक ठाउँमा खुलेका सम्पर्क कार्यालयहरू जनताकै बीचमा रहनेछन् भनिसकेको छु।’

देश–विदेशको अनुभव, आफ्नै माटोसँगको सम्बन्ध र जनताको मर्म बुझ्ने क्षमता आफूसँग भएकैले जनताको जिम्मेवारी लिन तयार भएकाे विष्टले बताए।

युवाको भविष्य, किसानको श्रम, मजदुरको पसिना र नागरिकको भरोसालाई केन्द्रमा राखेर सँधै इमानदार सेवकका रूपमा काम गर्ने अठोट उनले व्यक्त गरे। चुनावी घरदैलाे अभियानका क्रममा उम्मेदवार बिष्ट आज चुरे क्षेत्रको सहजपुर-निगाली हुँदै खैरालाको चार दिने अभियानमा निस्केका छन्।

आनन्द बिष्ट गोरखबहादुर बिष्ट निर्वाचन नेपाली कांग्रेस