Logo
७ वैशाख २०८३, सोमबार

राप्रपा नेतृ खुश्बु ओलीको रुकुम पुगेर प्रचण्डलाई प्रश्न : यही भूगोलबाट समानता र समृद्धिका सपना बाँडेको होइन ?

अक्षरपाटी
२०८२ फागुन ३ , आईतबार १२:०२ मा प्रकाशित

रुकुम। राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ खुश्बु ओलीले रुकुमको भूगोलसँग गाँसिएका इतिहास र सम्झनाहरूले आफ्नो मन भारी बनाएको बताएकी छिन।

रुकुमको चुनावी अभियान सकेर फर्कंदै गर्दा उनले सामाजिक संजालमार्फत तत्कालीन नेकपा माओवादीले २०५२ साल फागुन १ गते रुकुमको आठबीसकोट प्रहरी चौकी आक्रमण गर्दै सशस्त्र युद्ध सुरु गरेको स्मरण गराउँदै तत्कालीन माओवादीले समानता, सम्मान र समृद्धिका सपना त्यहिँबाट देखाएको होइन ? भन्दै प्रश्न गरेकी छन्।

‘यो दिनसम्म आईपुग्दा माओवादीका कार्यकर्ताहरू माओवादबारे के महसुस गरिरहेका होलान्?,’ उनले भनेकी छिन,’त्यसबेला विद्यालय जाने साना बालबालिकालाई बहकाएर किताबको सट्टा हातमा बन्दुक र बारुद थमाइयो। साधारण जनताले गहिरो गरि नै माओवादीलाई विश्वास गरे: निःशुल्क स्वास्थ्य, शिक्षा, धनी-गरिबबीच समानता आउनेछ भन्ने सपना उनीहरूलाई देखाइयो। पछाडि परेका भूगोलले आफ्नो पीडाको अर्थ पनि देखे।’

तर तीन दशकपछि रुकुमको हालत देख्दा आफूलाई पीडावोध भएको उनले उल्लेख गरेकी छिन। उनले सोधेकी छिन, ‘त्यो सपना आज कहाँ छ? आज घाइते पूर्व लडाकुहरू के महसुस गरिरहेका होलान्? शहीदका परिवारहरूले आजको माओवादी नेतृत्वलाई कसरी हेरीरहेका होलान्?’

उनले शीर्ष नेतृत्वका भ्रष्टाचार काण्ड, सत्ताको सौदाबाजी र कहिल्यै नजोडिने सिद्धान्त भएका दलहरूसँग बनेका गठबन्धन देख्दा माओवादीप्रति आस्था राख्ने नागरिकहरुको मनमा के चल्दो होला भनेकी छिन।

नेतृत्वको वरिपरि नातावाद र कृपावाद बढ्दा, त्याग गर्ने कार्यकर्ता किन पछाडि परे, यो पीडा कस्तो होला ? भन्दै प्रश्न गरेकी छिन।

रुकुममा आज एउटा मध्यपहाडी लोकमार्ग त बनेको तर यस किसिमका मार्गहरुको खाका र वास्तविक परियोजना त राजा महेन्द्रकै पालामा दशकौं अगाडी नेपालले पाईसकेको उनको भनाइ छ।

‘आज रुकुमका नागरिक अवशरको खोजीमा खाडीमा, भारतमा र अन्य अवैध बाटोलाई समातेर पश्चिमा देशमा भासिएर ठूलो दु:ख पाइरहेका छन। यो माटोमा युवा किन रोकिएका छैनन? युवा पलायन किन रोकिएन ? रोजगारीका अवषरहरु सिर्जना किन हुन सकेनन्? गाउँका कुना-कन्दरामा स्वास्थ्य र शिक्षाको अवस्था किन दयनीय छ?’ उनले पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न गरेकी छिन्।

आज रुकुममा हेभीवेट नेताहरू चुनावी प्रतिस्पर्धा गरिरहेका तर उनीहरूका छोराछोरी पढ्ने गरि कति गुणस्तरीय विद्यालयहरु यो भूगोलमा बने? उनीहरूकै परिवार उपचार पाउने गरि कति गुणस्तरीय अस्पताल यहाँ स्थापना भए? उनीहरूकै परिवारले पाउने जसरि कतिको रोजगारीका अवसरहरु यहाँ सिर्जना गरिए? यो माटोका किसानहरु पीडादायी अवस्थामा किन छन? १७ हजारकाे बलीदानीपछि पनि यो माटोको अवस्था उस्तै किन? भनेर खुश्बुले प्रश्न राखेकी छिन।

उनले भनेकी छिन, ‘शीर्ष तहका सबै मन्त्री, सांसद र शक्तिशाली बने। तर आधार-स्तम्भ बनेका माओवादी कार्यकर्ता, पूर्व सैन्यलडाकु अनि आम जनता कहिल्यै माथि उकासिएनन्। के सशस्त्र युद्ध सुरु गर्दा यही सपना देखाइएको थियो? के १७ हजार निर्दोष नागरिकको बलीदानी यसैका लागि थियो?’

यी प्रश्नहरू मनमा बोकेर आफू रुकुमबाट फर्कँदै गर्दा रुकुमेली जनताहरुको आवाजलाई सुनेर-बुझेर फर्कँदै गरेको पनि उनले लेखेकी छन्। उनी आफू क्रोध बोकेर होइन, अन्तरआत्माको आवाज बोकेर रुकुमेली माटोबाट फर्कँदै गरेको र फेरी रुकुम आउने वाचा समेत गरेकी छन्।

खुश्बु ओली निर्वाचन प्रचण्ड राष्ट्रिय प्रजातन्त्र पार्टी