Logo
१९ वैशाख २०८३, शनिबार

जनसमर्थनसहित र बलियो संगठनका कारण बोगटीको जित्ने आत्मविश्वास

अक्षरपाटी
२०८२ फागुन ३ , आईतबार ०९:०२ मा प्रकाशित

धनगढी। आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा अछाम निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी गतिविधि तीव्र बन्दै गएको छ।

उम्मेदवारहरू घरदैलो, टोलभेला र वडा भेलामार्फत मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो पक्षमा मत मागिरहेका छन्।

यसैक्रममा नेकपा एमालेका उम्मेदवार यज्ञ बोगटीले चुनावी प्रचारप्रसारलाई व्यापक बनाएका छन्। उनी यतिबेला गाउँ–गाउँ पुगेर मतदातासँग भेटघाट गर्दै आफ्नो पक्षमा समर्थन जुटाइरहेका छन्।

बोगटीले बलियो संगठन र जनताको साथका कारण आफू निर्वाचन जित्नेमा विश्वस्त रहेको बताएका छन्।

उनले २०७४ सालमा अघि सारेका विकासका योजनाहरू विभिन्न कारणले अधुरा रहेको उल्लेख गर्दै अब ती योजनालाई पूर्णता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

चिसापानी–जंगलघाट–खक्रौला सडकलाई हिल्सासम्म जोड्दै यस क्षेत्रलाई त्रिदेशीय नाकाका रूपमा विकास गर्ने आफ्नो योजना रहेको उनले बताए।

‘मैले सुरु गरेका योजना अलपत्र पर्नु दुःखद कुरा हो, अब ती सबै योजना पूरा गर्ने जिम्मेवारीका साथ चुनावी मैदानमा आएको छु,’ उनले भने।

चुनावी अभियानका क्रममा मतदाताबाट उल्लेख्य समर्थन पाएको उनको भनाइ छ। मतदाताले विकासका लागि आफूलाई साथ दिने वचन व्यक्त गरेको उनले बताए।

‘जनताको अपार माया, साथ र विश्वासले मलाई थप जिम्मेवार बनाएको छ। बलियो संगठन र जनसमर्थनका आधारमा जित सुनिश्चित छ भन्ने विश्वास लिएको छु,’ बोगटीले भने।

उनले नेकपा एमालेले सधैं जनताको दुःख–सुखमा साथ दिने परम्परा कायम राख्दै आएको बताए। विकास निर्माण, सुशासन र समृद्धिका लागि एमाले प्रतिबद्ध रहेको उनको भनाइ छ।

दूरदराजका बस्तीमा पुग्दा मतदाताले विगतमा अपेक्षाअनुसार विकास हुन नसकेको गुनासो गरेको र अब विकासका लागि सक्षम नेतृत्व आवश्यक रहेको बताएका उनले सुनाए। जनताले विकास र समृद्धिका लागि एमालेप्रति भरोसा व्यक्त गरेको उनको दाबी छ।

को हुन् यज्ञ बोगटी?

यज्ञ बोगटीले विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन्। उनी २०५० सालमा अनेरास्ववियुको जिल्ला कमिटी सदस्य बनेका थिए भने २०५१ मा संयोजक र २०५३ मा केन्द्रीय सदस्य बने।

२०५४ मा एमाले जिल्ला कमिटी सदस्य, २०५९ मा क्षेत्रीय संयोजक तथा २०६४ र २०६९ मा जिल्ला कमिटी सचिवको जिम्मेवारी सम्हालेका थिए।

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा उनले नेपाली कांग्रेसका उम्मेदवारलाई २ हजार ८५९ मतान्तरले पराजित गर्दै सांसद बनेका थिए।

२०७९ को निर्वाचनमा भने गठबन्धनका कारण पराजित भएका उनी यसपटक पुनः जनमत लिन चुनावी मैदानमा उत्रिएका छन्।

अछाम–२ मा यसपटक ८ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्। चुनावी प्रतिस्पर्धा रोचक बन्दै जाँदा यज्ञ बोगटीले भने बलियो संगठन र जनताको समर्थनका आधारमा आफ्नो जित सुनिश्चित हुने विश्वास व्यक्त गरेका छन्।

एमाले निर्वाचन यज्ञ बोगटी

ट्रेन्डिङ ( साप्ताहिक )