

धनगढी । निर्वाचन प्रक्रियालाई अझ पारदर्शी, निष्पक्ष र विश्वसनीय बनाउने उद्देश्यले सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयले ‘निर्वाचन र आम सञ्चार विषयक जिल्ला स्तरीय एक दिवसीय अन्तरक्रिया कार्यक्रम’ सम्पन्न गरेको छ।
प्रदेश निर्वाचन कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा सञ्चारकर्मी, सरोकारवाला निकाय र निर्वाचनसम्बद्ध कर्मचारीहरूको सहभागिता रहेको थियो।
सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका कार्यालय प्रमुख प्रेम भट्टका अनुसार लोकतान्त्रिक व्यवस्थामा निर्वाचन र आमसञ्चार एकअर्काका परिपूरक अंग भएकाले दुवैबीच समन्वय, उत्तरदायित्व र आचारसंहिताको पालना अत्यन्त आवश्यक छ।
भट्टले निर्वाचन अवधिमा सूचना प्रवाहको शुद्धता, अफवाह नियन्त्रण र मतदातामा सही सन्देश पुर्याउने जिम्मेवारी सञ्चारमाध्यमको रहेको उल्लेख गर्दै निर्वाचन आयोगद्वारा जारी आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा सबै पक्ष सचेत हुनुपर्ने बताए।
अन्तरक्रियामा सहभागीहरूले सामाजिक सञ्जालमा फैलिने भ्रामक सूचनाले निर्वाचन प्रक्रियामा पार्न सक्ने असर, तथ्यपरक रिपोर्टिङको आवश्यकता र पत्रकारको पेशागत उत्तरदायित्वबारे धारणा राखेका थिए। छलफलका क्रममा निर्वाचनसम्बन्धी सूचना संकलन तथा प्रकाशन गर्दा स्रोतको विश्वसनीयता, भाषा संयम र निष्पक्षता कायम राख्नुपर्ने विषयमा जोड दिइएको थियो।




