Logo
१७ वैशाख २०८३, बिहीबार

स्याङ्जामा विवादपछि रोकिएको मतदान पुनः सुरु

अक्षरपाटी
२०८२ फागुन २१ , बिहीबार ०२:०३ मा प्रकाशित

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–१० स्थित बालज्योति आधारभूत विद्यालय मतदान केन्द्रमा विवादका कारण केही समय रोकिएको मतदान पुनः सुरु भएको छ।

निर्वाचन अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि उत्पन्न विवादका कारण मतदान प्रक्रिया अवरुद्ध भएको थियो। मतदान केन्द्रमा १७१ मत खसिसकेपछि विवाद चर्किएको थियो।

त्यसपछि प्रयोगमा रहेका दुवै मतपेटिकालाई सिलबन्दी गरेर छुट्टै गणना गर्ने सहमति भएपछि मतदान पुनः सञ्चालन गरिएको निर्वाचन अधिकृत ऋषि पौडेलले जानकारी दिए। घटनाबारे निर्वाचन आयोगलाई जानकारी पठाइसकिएको पनि उनले बताए।

त्यसपछि प्रत्यक्ष र समानुपातिक दुवै तर्फका लागि नयाँ मतपेटिका राखेर मतदान प्रक्रिया अघि बढाइएको छ। झन्डै दुई घण्टा रोकिएको मतदान अहिले भने सहज रूपमा सञ्चालन भइरहेको छ।

७०१ मतदाता रहेको उक्त केन्द्रमा अहिले मतदाता मतदानका लागि लाइनमा बसेका छन्।

निर्वाचन स्याङ्जा