



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्यमा निर्वाचित आफ्ना १८२ सांसदहरूलाई आज अभिमुखीकरण गरिरहेको छ ।
पहिलो दिनको अभिमुखीकरणमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहबाहेक अधिकांश सांसद उपस्थित छन् ।
रास्वपाले संसदीय प्रणालीलाई गहिरोसँग बुझेका केही विज्ञहरूलाई ल्याएर सांसदहरूलाई प्रशिक्षण दिन लगाएको छ ।
आज प्रतिनिधिसभाका पूर्वसचिव सुरेश अधिकारीले संसदीय मूल्यमान्यताका विषयमा क्लास लिएका थिए । त्यस क्रममा गोर्खा १ बाट निर्वाचित सांसद सुधन गुरुङले एउटा प्रश्न राखे जुन कांग्रेस सभापति गगन थापाप्रति लक्षित थियो ।
गुरुङले सोधे, ‘संसदभित्र कुनै पनि सांसदले बिना प्रमाण आफूसित ‘प्रमाण छ’ भनेर बोल्न पाइन्छ ?’
तत्कालीन कांग्रेस सांसद गगन थापाले रास्वपा सभापति रवि लामिछानेले सहकारीबाट पैसा निकालेको प्रमाण आफूसित रहेको दाबी संसद बैठकमा गरेका थिए । तर, दाबी गरेअनुसार उनले प्रमाण देखाउन नसकेको भन्दै रास्वपा नेताहरूले आलोचना गर्ने गरेका छन् । गुरुङले पनि यही प्रसंगलाई कोट्याउन खोजेका हुन् ।
जवाफमा पूर्वसचिव अधिकारीले संसदमा बिनाप्रमाण प्रमाण छ भनेर झूटो बोल्न नपाइने प्रष्ट पारे । यस्तो कार्यले संसदीय गरिमामा आँच आउने उनको भनाइ थियो ।
यसमा थप्दै रास्वपाका प्रवक्ता तथा सांसद मनिष झाले आफूहरूले गगन थापाको अभिव्यक्तिलाई लिएर बारम्बार संसदमा आपत्ति जनाएको उल्लेख गरे ।
उनले भने, ‘हामीले बारम्बार यो कुरा उठायौँ, तर सभामुख उहाँहरूकै पक्षमा हुनुहुन्थ्यो । नभएको प्रमाण छ भन्नेलाई कुनै कारबाही भएन ।’ नेपालप्रेसबाट
रास्वपा



