



काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा डीपी अर्याल निर्विरोध चयन भएको घोषणा गरिएको छ।
आज आइतबार बसेको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले उनलाई सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्।
गत शुक्रबार सभामुख पदमा उम्मेदवारले मनोनयन गर्ने तालिका थियो। त्यसदिन अर्यालको मात्रै उम्मेदवारी परेको हो।
प्रतिनिधिसभाको बैठकमा डीपी अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव रास्वपा सभापति रवि लामिछानेले पेस गरेका हुन्।
सभापति लामिछानेले अर्याललाई सर्वसम्मत सभामुख बनाउन सहयोग गरेकोमा सबै दलहरुलाई धन्यवाद दिए। ‘यो सहयोग र राजनीतिक सम्मानका लागि सबैलाई धन्यवाद,’ उनले भनेका थिए।
रविको प्रस्तावमा डा स्वर्णिम वाग्लेले समर्थन जनाएका हुन्।
अर्थमन्त्री स्वर्णिम वाग्लेले नवनिर्वाचित सभामुख डिपी अर्याललाई विगतका सभामुख र संसदका असल अभ्यास स्मरण गराएका थिए।
समर्थन गर्न रोष्टममा उभिएका वाग्लेले २०१५ सालको संसदका सभामुख कृष्णप्रसाद भट्टराईले सदन विपक्षीको सरकार सत्तापक्षको भन्ने मानक स्थापित गरेको उनले स्मरण गरे।
त्यस्तै २०४८ सालको संसदका सभामुख दमननाथ ढुंगानाको निष्पक्ष भूमिकाको स्मरण गर्दै त्यसबेलाको रोचक सवालजवाफ पनि सुनाए।
उनले सुवास नेम्वाङले सभामुख र संविधान सभाको अध्यक्षको हैसियतमा संक्रमणकालको सहज अवतरण गराउन समन्वयकारी भूमिका निर्वाह गरेको पनि सम्झिए।
सभामुख अर्यालको शपथ ग्रहण आजै हुने भएको छ। उनलाई आज दिउँसो साढे २ शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथग्रहण गराउने कार्यक्रम छ।
डा. स्वर्णिम वाग्ले डीपी अर्याल रवि लामिछाने सभामुख



