Logo
४ वैशाख २०८३, शुक्रबार

खैरालाबासीको बत्ति बाल्ने सपना अपुरै, वर्षदिनदेखि ठिङ्ग उभिएका पोल हेर्न वाध्य

अक्षरपाटी
२०८२ चैत्र २४ , मंगलबार १२:०४ मा प्रकाशित

० शंकर खैराली

खैराला। सरकारी तथ्यांकले देश करिब पूर्ण विद्धुतीकरणको नजिक पुगेको देखाउँछ। केन्द्रीय तथ्यांक विभागका अनुसार देशको ९६ प्रतिशतभन्दा बढी घरधुरीमा विद्युत् पुगेको छ।

तर सुगम जिल्ला कैलालीको एउटा यस्तो गाउँ, जहाँ आज पनि स्थानीयहरु टुकीको उज्यालोमा बस्छन् भन्दा पत्यार नलाग्न सक्छ।

हो, कैलालीको चुरे गाउँपालिकामा पर्ने साविक खैराला गाविसका अधिकांश गाउँबस्ती आज पनि टुकी र दियालोको उज्यालाेमा जीवन गुजारीरहेका छन्। भले देशको तथ्यांकले करिब ९९ प्रतिश जनता विद्धुतीय पहुँचमा पुगेको किन नभनाेस।

साविक खैराला अर्थात चुरे ४ र २ का नागरिकलाई गत जेठ महिना भित्रै घरघरमा बिजुली बाल्ने सपना मात्रै देखाइएन, त्यसका लागि उनीहरुले ऋणधन गरेर घरघरमा वाइरिङ समेत गराए।

‘टाेलटोलमा विद्धुतका पोल गाड्ने काम पनि सम्पन्न पोहोरै भएको हो, हरेक नागरिकले वाइरिङ गराएको पनि एक वर्ष भयाे’, गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले अक्षरपाटीसँग भने, ‘तर सरोकारवाला निकायमा पटक पटक हारगुहार गर्याैँ, ठोस कारण देखाउँदैनन्, आउँछ आउँछ भन्छन्, हामी नै निरिह भइसक्याैँ, जनतालाई के जवाफ दिनु ?’

नेपाल विद्धुत प्राधिकरणको मुसुरिया कार्यालयले गत जेठ १५ सम्म मिटर जडान गर्ने भनेको थियो। सोहीअनुसार चुरे ४ र २ मा जेठ पहिलो साता सूचना जारी गर्दै करेन्ट परीक्षण समेत गरियो।

जेठ २८ गतेका दिन तारमा छोडिएको करेन्ट लागेर चुरे ४ निवासी ३१ वर्षीय खगेन्द्र तारामी मगर घाइते भए। उनको ३० प्रतिशत भाग जलेर आज अशक्त जीवन बाँच्न वाध्य भएका छन्। तर यहाँका जनताकाे बिजुली बाल्ने सपना भने अझै पुरा भएको छैन।

कहिले वर्षाको कारण देखाउने, कहिले जेनजी आन्दोलनकाे कारण त कहिले चुनावको कारण देखाउने गरेकाे चुरे ४ का वडा अध्यक्ष चन्द्रबहादुर लामिछाने बताउँछन्। उनले भने, ‘कारण अनेक देखाउँछन्, कहिले बिजुली बल्छ भन्नेबारे विद्धुत कार्यालयले नै ठोस जवाफ दिँदैन, हामी नै अलमलमा छाैँ’, उनले अक्षरपाटीसँग भने।

नेपाल विद्यतु प्राधिकरण धनगढी वितरण केन्द्रका तत्कालीन प्रमखु मिथिलेश कुमार गोइवारले त्यसबेला चाँडै विद्धुत लाइन जोडिने जवाफ दिएका थिए।

विजुली बाल्न नपाउँदै मानवीय क्षति व्यहोर्नुपरेपछि हामीले गाेइवारसँग राखेकाे जिज्ञासामा उनले गत जेठ अन्तिम साता भनेका थिए, ‘अबको एक, डेढ सातामै हामी बिद्युत वितरण सुरु गर्छौँ, वितरण कार्य सम्मपन्न हुन समय भने लाग्न सक्छ।’

तत्कालीन प्रमुखले त्यसो भनेकाे एक वर्ष पुग्नलाग्दा पनि स्थानीयले बिजुली बाल्न नपाएको गुनासो गरेका छन्। ‘भोलि नै बिजुली बाल्न पाइन्छ कि जस्ताे गरी वाइरिङ गर्न भने, वाइरिङ गरेका तारमा धमिरा र माकुराले जालो लगाइसक्यो खै कहिले बिजुली बल्ने हाे ? कसैले जवाफ दिँदैन’, स्थानीय गगनसिंहले बताए।

उसो त यो गाउँको समस्या बिजुली मात्रै होइन्। चुरे ४ र २ मा टेलिफोन नेटवर्कले पनि गतिलो काम गर्दैन। सोलार सिस्टमबाट चलाइएको टेलिकमको टावरका कारण साँझ परेपछि र एकाबिहानै नेटवर्क नहुने यहाँकाे सदाबहार समस्या हो।

महाभारत श्रृङ्खलाको सबैभन्दा उँचाे पर्वत यही गाउँमा पर्छ। राणाकालीन दरबार भएको गाउँ खैराला नै हो। तर स्थानीय जनता आज पनि विद्धुत, टेलिफोन र स्वास्थ्य उपचारको अभावमा पिल्सिएको सत्य गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटी नै स्वीकार्छन्।

पालिकाको स्रोतले यहाँका सबै समस्या समाधान सम्भव नभएको बताउँदै अध्यक्षले भने, ‘सरोकारवाला निकायमा टेलिकमको टावरका लागि कैयाैँपटक धाएका छाैँ, सडक, शिक्षा र स्वास्थयका लागि सरोकारवाला निकायलाई बिन्ति गरेकै छाैँ तर सुनुवाइ हुँदैन।’

नेपाल विद्धुत प्राधिकरण धनगढी वितरण केन्द्रका बहालवाला प्रमुख शन्तोष पन्त भने नयाँ मिटर अभावका कारण बिद्धुत वितरण हुन ढिलाइ भएको बताउँछन्।

उनले अक्षरपाटीसँग कुरा गर्दै भने, ‘चुरे ४ र २ मा विद्धु वितरणका लागि हालै डिजी, स्थानीय जनप्रतिनिधि र हामी बसेर छलफल भएको छ। अबको एक-डेढ महिनामा हामी बिद्युत वितरण गर्छाैँ। नयाँ मिटरको अभाव भएकाले मात्र ढिलाइ भएको हो।’

उनले स्थानीय उपभाेक्तालाई बरु कागजी प्रक्रिया पुरा गर्दै गर्न सन्देश पुर्याइदिन पनि अपिल गरे।

‘वडा कार्यालयले समन्वय गरेर मिटर जोड्नका लागि कागजी प्रक्रिया गर्दैगर्दा हुन्छ भन्ने सन्देश पुर्याइदिनुस, हामीले केही फाराम पनि पठाएका छाैँ’, उनले भने, ‘थप फाराम आवश्यक पर्ने भए वडा कार्यालयले भनोस हामी पठाइदिन तयार छाैँ।’

चुरे ४ र २ मा करिब ८ सय घरधुरी बिद्धुत लाइनको पर्खाइमा छन्। उनीहरुले एक वर्ष अघि नै घरघरमा वाइरिङ समेत गरिसकेको वडा कार्यालयले जनाएको छ।

जेनजी आन्दोलनपछि नयाँ निर्वाचनबाट गठन भएको शक्तिशाली र नयाँ उर्जासहितको सरकारले अब भने यस्ता समस्या चाँडाे सम्बाेधन गर्ने अपेक्षा स्थानीयको छ।

कैलाली खैराला लापरवाही विद्धुत

ट्रेन्डिङ ( साप्ताहिक )