



काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले माता तीर्थ औंसीका अवसरमा शुभकामना दिँदै माता र मातृभूमि स्वर्गभन्दा पनि महान हुने बताएका छन्।
उनले सामाजिक सञ्जालमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ लेख्दै त्यसको अनुवादमा भनेका छन्- ‘माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्।’
प्रधानमन्त्री शाहले माताको काख न्यानो र चरण तीर्थजस्तै पवित्र हुने समेत उल्लेख गरेका छन्।
‘मातातीर्थ औँसीको यस पावन अवसरमा माया र त्यागको अनुपम उदाहरण बनिरहने सृष्टिकी मुहान सम्पूर्ण आमाहरूप्रति हार्दिक सम्मान, कृतज्ञता र नमन व्यक्त गर्दछु’, उनले लेखेका छन्, ‘आमाहरूको दीर्घायुको कामना गर्दछु।’
जीवनको पहिलो गुरु अनि अनन्त ममताकी स्रोत आमा भएको बताउँदै उनले ‘आमाको मुख हेर्ने दिन’ आज सम्पूर्ण आमाहरू र नेपाल आमाको सदैव उज्यालो मुहारको कामना गरेका छन्।
भनेका छन्, ‘आमालाई सधैं हँसाउन सकौँ, हामी सन्तानहरूको कर्ममा आमाले सदैव गर्व गर्न सकून्। मातातीर्थ औँसी ‘आमाको मुख हेर्ने दिन’को हार्दिक मंगलमय शुभकामना। हे जननी! म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।’
बालेन्द्र शाह मातातीर्थ औँसी



