



काठमाडौं। आज र भोलि देशका विभिन्न क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन मौसमविदहरूले आग्रह गरेका छन्।
आज वैशाख १५ गते रातिदेखि वर्षा धेरै हुने र यसको क्षेत्र पनि विस्तार हुने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। वैशाख १६ गते अझ बढी वर्षा हुने पूर्वानुमान गरिएको छ।
काठमाडौं उपत्यकालगायत आसपासका क्षेत्र तथा पूर्वी भू-भागमा आज बेलुकी र राति भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। बुधबार र बिहीबार पनि पूर्वदेखि त्रिशूली–कालिगण्डकी क्षेत्रसम्म बेला–बेलामा वर्षा जारी रहने जल तथा माैसम विज्ञान विभागले जनाएको छ।
वर्षासँगै साना खोला–नदीमा आकस्मिक बाढी, पहाडी क्षेत्रमा पहिरो तथा सडक अवरुद्ध हुने जोखिम उच्त छ। यसैले त्रिभुवन, पृथ्वी, सिद्धार्थ, पासाङल्हामु र बीपी राजमार्गमा रातिको यात्रा सकेसम्म नगर्न विभागले सुझाव दिइएको छ।
विभागले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलाई उच्च सतर्कतामा राख्दै मौसमको नियमित जानकारी लिएर मात्र काम गर्न आग्रह गरेको छ। केही स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षा र हिमाली क्षेत्रमा हिमपातसमेत हुनसक्ने जनाइएको छ।
माैसम वर्षा



