



काठमाडौं । भारततर्फ विकसित हावाहुरीसहित वर्षा गराउने बादल नेपाल प्रवेश गर्न थालेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणाली पश्चिमबाट सर्दै सुदूरपश्चिमको कञ्चनपुर आसपास आइपुगेको छ। साथै, देशको पूर्वी भू–भाग नजिकै अर्को न्यूनचापीय प्रणाली सक्रिय रहेकाले दुवै प्रणालीको प्रभावले देशभर मौसम बदली र हावाहुरीको जोखिम बढेको छ।
मौसमविद् सरोज पुडासैनीका अनुसार पश्चिमबाट आएको प्रणाली र पूर्वतिर सक्रिय न्यूनचापबीचको अन्तरक्रियाले केही स्थानमा तीव्र हावाहुरीसहित वर्षा गराउन सक्छ। यसलाई मध्यनजर गर्दै मौसम पूर्वानुमान महाशाखाले बुधबार विशेष बुलेटिन जारी गर्दै अपराह्न ४ बजेदेखि बिहीबार बिहान ६:४५ बजेसम्म तीव्र हावाहुरीको चेतावनी दिएको छ।
हावाहुरीको गति २० देखि २५ मिटर प्रतिसेकेन्डसम्म पुग्न सक्ने अनुमान गरिएको छ, यद्यपि स्थानअनुसार यसको तीव्रता फरक–फरक हुन सक्ने बताइएको छ।
महाशाखाका अनुसार सुदूरपश्चिमका कञ्चनपुर, डडेलधुरा र डोटी, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ, अर्घाखाँची र नवलपरासी, गण्डकीका नवलपुर, बागमतीका चितवन, मधेसका बारा, पर्सा र धनुषा तथा कोशी प्रदेशका झापा र मोरङ आसपासका जिल्लामा हावाहुरीको उच्च जोखिम रहेको छ।
यसैगरी, बुधबार दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षाको सम्भावना छ। कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी पनि दिइएको छ।
बुधबार राति पनि देशका अधिकांश भू–भागमा मेघगर्जन, चट्याङ र वर्षा जारी रहने पूर्वानुमान गरिएको छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा असिनासहित वर्षा हुने सम्भावना रहेको छ भने पहाडी क्षेत्रमा केही स्थानमा भारी वर्षा हुन सक्नेछ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। हावाहुरीको समयमा घरबाहिर ननिस्कन, झ्यालढोका मजबुत बनाइराख्न, कमजोर छाना भए कसिलो पार्न, खुला स्थानमा आगो नबाल्न तथा अग्ला र कमजोर संरचना, रुख, बिजुलीका पोल र तारबाट टाढा रहन अनुरोध गरिएको छ।
साथै, लत्रिएको बिजुलीको तार नछुन र उड्ने वस्तुबाट हुने चोटपटकबाट बच्न विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
जल तथा मौसम विज्ञान विभाग



