Logo
१७ वैशाख २०८३, बिहीबार

कसुर संशोधन विवाद : रवि लामिछानेसहितको रिटमा आज सुनुवाइ

अक्षरपाटी
२०८३ वैशाख १७ , बिहीबार ११:०४ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने लगायत प्रतिवादीहरूको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी कसुर संशोधन गर्ने निर्णयविरुद्ध परेको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

बिहीबार न्यायाधीशहरू अब्दुल अजीज मुसलमान, श्रीकान्त पौडेल र शान्तिसिंह थापा सम्मिलित पूर्ण इजलासले उक्त रिटमाथि सुनुवाइ गर्नेछ।

यसअघि वैशाख १० गतेका लागि पेसी तोकिएको भए पनि महान्यायाधिवक्ताको तर्फबाट स्थगित गरिएको थियो। त्यसअघि चैत १५ गते न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमान को इजलासले मुद्दालाई पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो।

उक्त इजलासले आठवटा संवैधानिक तथा कानुनी प्रश्नहरूको व्याख्या आवश्यक रहेको ठहर गर्दै पूर्ण इजलासमा पेश गर्न निर्देशन दिएको थियो। पूर्ण इजलासमा तीन वा सोभन्दा बढी न्यायाधीश सहभागी हुन्छन्।

रवि लामिछानेसहितका प्रतिवादीको हकमा तत्कालीन महान्यायाधिवक्ता सबिता भण्डारी ले गत पुस ३० गते सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी कसुर संशोधन गर्ने निर्णय गरेकी थिइन्। त्यसको केही दिनपछि माघ २ गते ‘त्रुटि सच्याइएको’ भन्दै सबै प्रतिवादीविरुद्धका आरोप संशोधन गर्न निकास दिइएको थियो।

उक्त निर्णयमा फरार रहेका जिबी राईसहित अन्य प्रतिवादीहरूलाई पनि समेटिएको थियो। महान्यायाधिवक्ताको उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा तीनवटा रिट दायर भएका छन्।

यस मुद्दाको सुनुवाइबाट आगामी कानुनी प्रक्रिया र आरोप संशोधनसम्बन्धी विवादको टुंगो लाग्ने अपेक्षा गरिएको छ।

रवि लामिछाने