



काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का प्रमुख पदाधिकारीहरूले कर्मचारीमार्फत प्रधानमन्त्री कार्यालयमा राजीनामा पठाएका छन्। राजीनामा कुलपति एवं प्रधानमन्त्रीका निजी सचिव प्रदीप परियारको व्हाट्सएपमार्फत समेत पठाइएको जनाइएको छ।
उपकुलपति प्राडा दीपक अर्याल, शिक्षाध्यक्ष प्राडा खड्ग केसी र रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले संयुक्त रूपमा राजीनामा दिएका हुन्। शिक्षाध्यक्ष केसीका अनुसार राजीनामापत्र प्रधानमन्त्री कार्यालयमा बुझाइसकिएको छ।
सरकारले राजनीतिक नियुक्तिलाई सहज बनाउन अध्यादेश ल्याउने तयारी गरेको सन्दर्भमा विरोधस्वरूप राजीनामा दिइएको उनीहरूको भनाइ छ। साथै नयाँ सरकारलाई काम गर्न सहज वातावरण बनाउन आफूहरूले मार्गप्रशस्त गरेको तर्क समेत गरेका छन्।
उपकुलपति अर्याल केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला २०८२ असार २५ गते नियुक्त भएका थिए। यसअघि उपकुलपति रहेका केशरजंग बरालले राजीनामा दिएपछि अर्याल उक्त पदमा नियुक्त भएका थिए।
यस्तै शिक्षाध्यक्ष केसी र रजिस्ट्रार रिजाल पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेला २०८० चैत ३० गते नियुक्त भएका थिए। उनीहरूको नियुक्ति तत्कालीन उपकुलपति बरालको सिफारिसमा भएको थियो।
त्रिविका पदाधिकारीहरूको कार्यकाल चार वर्षको हुने प्रावधान छ। तर पछिल्लो समय राजनीतिक नियुक्ति फिर्ता लिनुपर्ने माग बढेसँगै उनीहरूले पदबाट राजीनामा दिएका हुन्।
गत १४ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सम्बन्धित अध्यादेश सिफारिस गरेको थियो, जसबारे हाल राष्ट्रपतिबाट अध्ययन भइरहेको छ।
त्रिभुवन विश्वविद्यालय



